© २०२३
भैरहवा, ९ फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति, रुपन्देहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाएको छ । राप्रपा रुपन्देहीले ४० बुँदे माग राख्दै बुधबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो ।
राप्रपाले रुपन्देहीसहित देशैभरका जिल्ला प्रशासन कार्यालयबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको पार्टीको रुपन्देही जिल्ला कार्यबाहक अध्यक्ष अजय कुमार गुप्ताले बताए । सरकारले राप्रपाको ज्ञापनपत्रको विषयलाई विश्वासिलो ढंगबाट सम्बोधन नगरे राप्रपा तत्काल सडक र सदन दुवै तहबाट देश र जनताको पक्षमा आन्दोलन गर्न बाध्य हुने पार्टीका रुपन्देही जिल्ला सचिव बलराम शर्माले बताए ।
राप्रपाले अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था, सर्वधर्म समभावपूर्ण स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू अधिराज्य, प्रदेश संरचनाको खारेजी र दुई तहको सरकार (केन्द्र र अधिकारप्राप्त स्थानीय तह), जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, कार्यकारी पदहरुमा एक व्यक्ति दुई कार्यकाल भन्दा बढी बस्न नपाउने संवैधानिक÷कानूनी व्यवस्था, सबै ठूला भ्रष्टाचारको पुनः र पूर्ण छानबीनसहित ४० बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अर्यालले आफूले छिटो भन्दा छिटो ज्ञापनपत्र सम्बन्धित ठाउँमा पठाउने बताए ।