© २०२३
बुटवल, २३ माघ । बाँकेको खजुरामा जारी नवौं डांफे कप नकआउट फुटबल प्रतियोगिताको उपाधि खजुरा ४ को न्यु दर्पण युवा स्पोर्टस् क्लबले चुमेको छ । मंगलबार भएको निक्कै प्रतिस्प्रर्धात्मक फाईनल खेलमा न्यु दपर्णले बाग्मती स्र्पोटस क्लबलाई ट्राइवेकरमा ७–६ गोलले पराजित गर्दै उपाधि चुमेको हो । उपाधिसंगै न्यु दर्पण नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता न्यु बाग्मती भने नगद ८५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ ।
खजुरा ४ डी गाउँ स्थित मिनी रङ्गशालामा दर्शकले भरिभराउ रोमाञ्चक खेलको पहिलो हाफ गोलरहित बराबरी भयो । दोस्रो हाफको २६ औ मिनेटमा न्यु दर्पणका धनसिंह बिकले गोल गर्दै टिमलाई खेलमा अग्रता दिलाएका थिए । तर यो अग्रता धेरै बेर टिकेन । खेलको ३५ औ मिनेटमा बाग्मती स्पोर्टस् क्लबका श्याम ब्यादीले गोल गर्दै खेल बराबरीमा ल्याए । निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल ट्राइवेकरमा धकेलियो ।
एक समारोहका बिच खजुरा गाउँपालिकाकी उपप्रमुख मन्जु मल्ल चन्दले विजेता, उपविजेता टिमलाई पुरस्कार वितरण गरिन । प्रतियोगिताको समापन समारोहमा खजुरा क्षेत्रबाट राष्ट्रिय खेलकुदमा पदक जित्न सफल ८ जना राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरिएको थियो भने प्रथम पुरस्कार प्रायोजक लिलबहादुर थापालाई विशेष सम्मान प्रदान गरिएको थियो । माघ १५ गतेबाट शुरु भएको प्रतियोगिताको प्रथम पुरस्कार राशि हाल अमेरिकामा रहेका खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँ निवासी लिल बहादुर थापा र दोस्रो पुरस्कार प्रतिक निर्माण सेवाले सौजन्य गरेको खेल संयोजक तिलकबीर सुनारले बताए ।