© 2026
काठमान्डौँ ।
नेपाल प्रहरीले पत्रकार पक्राउ गर्न खोजिएको घटनाबारे स्पष्टीकरण दिँदै जारी गरेको विज्ञप्ति हटाएको छ । प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले शनिबार राति १ बजेर ४० मिनेटमा ह्वाट्सएप ग्रुपमार्फत सार्वजनिक गरेको विज्ञप्ति प्रहरीले शनिबार बिहान हटाएको हो ।
विज्ञप्तिमा सञ्चारकर्मीलाई कार्यालयमा बोलाउनु प्रहरीको नियमित कार्यसम्पादनअन्तर्गतको कदम भएको र यसको उद्देश्य प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्नु नरहेको दाबी गरिएको थियो ।
‘त्यस्ता प्रचारबाजीको सत्यता, तथ्यपरकता र कानुनी आधारका बारेमा सामान्य जानकारी लिने उद्देश्यले नेपाल प्रहरीको साइबर ब्युरोले केही सञ्चारकर्मीलाई कार्यालयमा बोलाएको कार्य प्रहरीको कार्यसम्पादनअन्तर्गतको सही मनसाय हो,’ विज्ञप्तिमा भनिएको थियो ।
नेपाल प्रहरीले शुक्रबार नयाँ पत्रिका दैनिकको कार्यालयमा साढे दुई घण्टा घेराउ गर्दै पत्रकार पक्राउ गर्ने प्रयास गरेको थियो । त्यसक्रममा केही पत्रकारलाई पक्राउ गरे पनि पछि छाडिएको थियो ।
उक्त घटनाबारे प्रधानमन्त्रीको सचिवालय र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अनभिज्ञता प्रकट गरेका थिए । तर, प्रहरीले राति जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री कार्यालयकै चासोपछि साइबर ब्युरो परिचालन गरिएको उल्लेख गरेको थियो ।
प्रहरीका अनुसार पछिल्लो समय सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रहरीविरुद्ध गलत समाचार र सन्देशहरू निरन्तर प्रचार भइरहेको भन्दै प्रधानमन्त्री कार्यालयले चासो व्यक्त गरेको थियो । यस्ता गतिविधिले प्रहरीको व्यावसायिकता, सर्वसाधारणको विश्वास, सरकार र प्रहरी संगठनबीचको सम्बन्ध तथा अनुसन्धान प्रक्रियामा नकारात्मक असर पार्न सक्ने विषयमा प्रधानमन्त्री कार्यालयको चासो रहेको प्रहरीको दाबी थियो ।
प्रधानमन्त्री कार्यालयको उक्त चासोलाई सम्बोधन गर्ने क्रममा साइबर ब्युरोले केही सञ्चारकर्मीलाई कार्यालयमा बोलाएर प्रहरीविरुद्ध भइरहेका प्रचारबाजीको सत्यता, तथ्यपरकता र कानुनी आधारबारे सामान्य जानकारी लिने काम गरेको विज्ञप्तिमा उल्लेख थियो ।
यस्तो थियो प्रहरीले ह्वाट्सएप ग्रुपमा पठाएको वक्तव्य
हालका दिनहरूमा नेपाल प्रहरीविरुद्ध गलत समाचार तथा सन्देशहरू सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा निरन्तर प्रचार भइरहेको सन्दर्भमा यस्ता सन्देशहरूले प्रहरीको व्यावसायिकता, सर्वसाधारणप्रतिको विश्वास, सरकार र प्रहरी संगठनबिचको सम्बन्ध, अनुसन्धानलगायतका विषयमा जनमानसमा नकारात्मक भावना जाने विषयलाई लिएर प्रधानमन्त्री कार्यालयबाट भएको चासोप्रति क्रियाशील हुँदै, सो सम्बन्धमा त्यस्ता प्रचारबाजीको सत्यता, तथ्यपरकता र कानुनी आधारका बारेमा सामान्य जानकारी लिने उद्देश्यले नेपाल प्रहरीको साइबर ब्युरोले केही सञ्चारकर्मीहरूलाई कार्यालयमा बोलाएको कार्य प्रहरीको कार्यसम्पादनअन्तर्गतको सही मनसाय हो ।
यसलाई मनन गर्दा सुरक्षित समाजको निर्माण गर्न सबै जनमानसमा सहयोग पुग्ने अवस्थाको सिर्जना हुन्छ। राज्यको चौथो अंग प्रेसप्रति नेपाल प्रहरी जहिले पनि सकारात्मक भावनाका साथ प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षाप्रति सदैव प्रतिबद्ध र कटिबद्ध रहने व्यहोरा सम्बन्धित सबैमा अनुरोध गर्दछ ।