© २०२३
प्रजातन्त्र प्राप्तिका लागि ज्यान उत्सर्ग गर्ने शहिदहरूको सम्मान र सम्झनामा आज मंगलवार शहिद दिवस मनाईदैछ । यद्यपि शहिद दिवस हरेक बर्ष साताव्यापी कार्यक्रम गरि मनाउने गरिएको छ । राष्ट्रका लागि ज्यानको पर्वाह नगरी मृत्युवरण गरेकाहरूको सम्मानमा शहिद दिवस मनाउने परम्परा रहिआएको छ । वि.सं. २००७ मा राणा शासनविरुद्ध लडेर ज्यानको बाजी लगाउने शहिद धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको योगदान चिरस्थायी राख्न र त्यसपछि २०१७, २०४६ र २०६२–२०६३ सालमा प्रजातन्त्र तथा लोकतन्त्र र गणतन्त्रका लागि ज्यान दिने ज्ञात–अज्ञात शहिदको सपना साकार पार्न आज सङ्कल्प गर्ने दिनका रूपमा पनि शहिद दिवसलाई लिने गरिएको छ । निरङ्कुश जहानिया राणा शासन हटाई नेपालमा बैधानिक प्रजातान्त्रिक शासन स्थापना गर्न शुक्रराज, धर्मभक्त दशरथ चन्द र गंगालालका साथै कृष्णलाल अधिकारी र कृष्णप्रसाद कोइरालाको बलिदानले ठूलो भूमिका निर्वाह गरेको थियो । त्यसयता मुलुकमा ठूलो संख्यामा शहिदहरूले बलिदान गरेका छन् । शहिद दिवसका अवसरमा मंगलवार देशैभरि विविध कार्यक्रम आयोजना गरिएको छ । जेहोस् शहिद दिवसको औपचारिकता पूरा भएको छ तर शहिदले देखेको सपना अझै पूरा भएको छैन । शहिदहरूले जुन सपना देखेका थिए त्यो पूरा गर्नेतर्फ नेताहरूको गम्भीर ध्यानाकर्षण हुनु जरुरी छ । अनिमात्र शहिदले दिएको बलिदानको सार्थकता हुनेछ ।
शहिद दिवसको मर्म संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई निष्कर्षमा पुयाउन सकेमा मात्र त्यो सार्थक हुनेछ । शहिद दिवसलाई अहिलेसम्म केवल परम्परा धान्ने वा औपचारिकतामा मात्र सीमित राखिएको इतिहास छ । वर्षको एकपटक शहिद दिवस मनाउने र त्यसपछि शहिदले देखाएको बाटोमा मुलुकलाई अग्रसर नगराउने परम्परा हाबी हुँदै गएको छ । यस्तो अवस्थाले शहिदको साँचो अर्थमा स्मरण हुन सक्दैन र उनीहरूले जुन उद्देश्यका लागि ज्यान उत्सर्ग गरेका थिए त्यसको कत्तिपनि सम्मान हुन सक्दैन । कमसेकम शहिद दिवसमा शहिदले गरेको त्याग र बलिदान अनुरूप अघि बढ्ने संकल्प गर्नुपर्दछ । अनिमात्र शहिद दिवस मनाउनुको सार्थकता हुन सक्छ । तर, विडम्बना पछिल्लोसमय हामीले शहिद शब्दको मर्यादा, मूल्य, गरिमा, सम्मान र आस्थालाई अवमूल्यन गर्दै आएको अवस्था छ । अहिले शहिदको अपमान भैरहेको छ । सामान्य घटनाक्रममा मृत्युबरण गरेकाहरूलाई पनि शहिदको पगरी गुथाउने जुन परिपार्टी विकास भएको छ, त्यसले शहिदको अवमूल्यन भएको छ ।
अर्को चिन्ताको कुरा के छ भने अस्तीमात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले थप तीन हजारलाई शहिद घोषणा गर्ने तयारी भैरहेको बताउनु भयो । यसले के देखिन्छ भने शहिदको मर्यादा, गरिमा होइन अव शहिद भन्नासाथ हेयको दृष्टिले हेर्ने बातावरण सरकार आफै सिर्जना गर्दैछ । शहिदको जुन सपना थियो त्यो पूरा गर्ने दौरानामा शहादत प्राप्त गरेका चार शहिद नै वास्तविक शहिद हुन । बस वा ट्रकले दुर्घटना गराएकाहरूरुलाई पनि शहिदको सूचीमा राख्ने गरिएको नराम्रो संस्कारको विकास भैरहेको छ । यसले शहिदको अवमूल्यन हुँदै गएको छ । राणा शासनको अन्त्यका लागि हाँसीहाँसी फाँसी चढ्न तयार शुक्रराज, धर्मभक्त, गंगालाल, दशरथ चन्दहरूका अगाडि अमूल्य शहिद उपमा लाग्दा जीउ जिरिंग हुने गथ्र्यो । सम्मानले रगत उम्लिन्थ्यो । तर जब ‘शहिद’ हरूको सूची रूपैयाँ पाउने हिसाबले बढ्न थाल्यो । शहिद शब्दकै अपमान, अवमूल्यन र मानमर्दन हुन थालेको छ । यही अवस्थाले वास्तविक महान् शहिदको अपमान गर्न सुरु भएको त होइन ? प्रश्न गर्नुपर्ने बेला आएको छ । अब वास्तविक शहिदको अपमान होइन सम्मान गर्ने संस्कृति विकास गर्नु जरुरी छ । शहिदले देखाएको बाटोमा मुलुक हिँड्ने प्रयास होस् । अनिमात्र वास्तविक शहिदको सम्मान हुनेछ ।