© २०२३
हरेक वर्ष पुष २७ गते पृथ्वी जयन्ती पर्छ । पृथ्वी जयन्ती आउँदा मेरो मनमा पृथ्वीनारायण शाहको तस्वीर झल्कन्छ । उनको जन्म जयन्ती मनाएको याद आउँछ । उनको तस्वीरमा माला लगाईदिएको र जयजयकार गरेको याद आउँछ । उनका केही भनाई र उपदेश अनि उनको चोर औला ठडाएको शालिक सम्झन्छु । उनलाई मैले देख्ने कुरै भएन । उनी हुँदा म आमाको गर्भमा पनि थिईन । उनको मृत्यु बिक्रम सम्बत १८३२ मा भईसकेको थियो । पृथ्वीनारायण शाहबारे पाठयपुस्तक पढेर केही कुरा थाहा पाईयो भने उनीबारे लेखिएको इतिहासबाट केही कुरा थाहा पाईयो । काठमाण्डौ जाँदा भने उनको शालिक राम्रैसंग देखियो । उनले गरेको काम इतिहास पढेर थाहा पाएपछि उनको शालिक देख्दा पनि श्रद्धाले शीर निहुरिन्छ । सोच्छु यदी पृथ्वीनारायण शाहले नेपाल एकिकरण नगरेको भए आज नेपाल हुन्थ्यो हुँदैनथ्यो वा कहाँ बिलय हुनेथियो ? कुन देशको हिस्सा हुने थियो । अंग्रेजको पोल्टामा जान्थ्यो कि ? भारतको पोल्टामा वा आधा उत्तर आधा दक्षिण कता पुग्थ्यो । अन्य कुनै देशका शासकको पोल्टामा पुग्थ्यो यसै भन्न सकिन्न ।
यिनै पृथ्वीनारायणलाई अनेक लान्छना लगाउँदै आए, आफुलाई प्रजातन्त्रबादी, लोकतन्त्रबादी, गणतन्त्रबादी भन्ने र जातीय नारा लगाउनेहरूले । उनले सानातिना राज्यहरू मिलाएर बृहत नेपाल बनाउने सोंच नबनाएको भए आज नेपाल कत्रो हुन्थ्यो । हामी कहाँ हुन्थ्यौं ? उनलाई नै बिस्तारवादीको संज्ञा दिन्छन् । राज्यहरू बन्नेक्रममा, देशहरू बन्ने क्रममा संसारभरिका देश यस्तै गरि बनेका देखिन्छन् । उनलाई नै बिस्तारबादी भनेर उनको शालिक तोड्नुको औचित्य देखिन्न । बाईसे चौबीसे राज्यका रजौटाको आपसी लडाई मारकाट एकातिर थियो भने दक्षिणतिरबाट बृटिस अंग्रेजहरू नेपाल छिर्न अनेक दाउपेंच र प्रपन्च रचिरहेका थिए । यस्तोमा पृथ्वीनारयण शाहले एकिकरणको अभियान शुरु गरेका थिए र नेपाललाई बचाएका थिए । उनले भनेकै छन् “ यो मुलुक सानो दुःखले अज्र्याको मुलुक होईन ।” आफुलाई सच्चा नेपाली हुँ भन्नेले उनको योगदानको कदर गर्नुपर्ने हो तर मूर्तिसमेत देख्न नसकेर तोडफोड गर्छन् । मान्छे त जीवित थिएनन् नै । उनैले शुरु गरेको एकीकरणको काम र अग्रेजको बिरुद्ध आवाज उठाएका पृथ्वीनारायण शाहको शालिकसम्म देख्न सकेनन् केही उच्छृङखल जमातले र उनको शालिक तोडे । इतिहास मर्दैन । इतिहास पनि सुन्न र हेर्न नसक्ने मानसिकता बोकेका कस्ता नेपाली हुन् ? भनिन्छ– इतिहासबाट पाठ सिकेर अगाडी बढ्नुपर्छ । तर यहाँ पाठ सिक्नुभन्दा तोडफोड गर्नतिर लाग्छन् । मूर्ति त उनको स्वरूप मूर्तिकारले बनाएको थियो । त्यो शालिकले के बिराएको थियो र ? त्यो त एउटा इतिहास थियो । अव आउने नयाँ पुस्तालाई नेपालमा यस्ता शासकहरू थिए, उनीहरूले यो यो काम गरेका थिए भनेर परिचय गराउन सकिन्थ्यो । विद्यार्थीहरूलाई चिनाउन पनि त्यो शालिकले काम गथ्र्यो र पर्यटकहरूलाई देखाउन पाईन्थ्यो । अन्य देशमा त्यस्ता पुराना प्रसिद्ध ब्यक्ति जसले एउटा इतिहास रचेका छन्, चाहे ति बिख्यात वा कुख्यात किन नहुन् तिनको बारेमा ऐतिहासिक सिनेमा बन्छन् । शालिक बनाएर संरक्षण गरेर राखिन्छन् । तर हाम्रो देशमा भने त्यस्ता ऐतिहासिक ब्यक्तिको शालिक तोडफोड गरेर त्यो ठाउँमा आफ्ना आफ्ना जातीय ब्यक्तिका शालिक ठडाइन्छ । यो राम्रो परिपाटी पक्कै होईन । बिभिन्न जातजातीका ब्यक्तिले पनि देशकै लागि मरिमेटेर काम गरेकै हुन्, देश र जनताको भलो चिताएकै हुन् । उनीहरूको पनि स–सम्मान शालिकहरू राखिनुपर्छ तर एउटालाई बिस्थापित गरेर, उही ठाउँमा अर्कोलाई स्थापित गर्नु राम्रो काम पक्कै होईन । उनीहरूका लागि अन्य स्थान खोजिनुपथ्र्यो र शालिक राखिनुपथ्र्यो । बनिसकेकालाई किन भत्काउनु ?
संसारमा कैयौं देशहरू टुक्रिएका, छिन्नभिन्न भएका पनि इतिहास छन् । पछि एउटा ठूलो राज्य बनेका छन् । ठूला देशहरू टुक्रदै पनि छन् । राजनैतिक खेल बुझिनसक्नु हुने रहेछ । संसारको नक्सामा नेपाल सानो देश छ । सानो भएपनि यसको आफ्नै अस्तित्व छ । नेपालमा बाईसे र चौबिसे राज्यहरू थिए । गुल्मी पश्चिम बाईसे राज्य र गुल्मीदेखि पूर्व चौबिसे राज्य भनिन्थ्योे । पश्चिममा वल्लो कुमाउ पल्लो कुमाउ पथ्र्यो । पूर्वतर्फ वल्लो किराँत र पल्लो किराँत राज्यहरू थिए भन्ने इतिहास पढिएको हो । यिनी राज्यहरूका राजाहरूका बीचमा जल जंगल र जमिनदेखि सानो सानो कुरामा आपसी लडाई मतभेद चलि रहन्थ्यो । एउटा राज्यले अर्को राज्यसंग लडाई, काटमार गथ्र्यो र जित्नेले आफनो पोल्टामा पाथ्र्यो । यो सबै आपसी झै झगडा देखेर नै पृथ्वीनारायण शाहले एकिकरणको योजना गरे भन्ने इतिहास पढ्दा थाहा हुन्छ । उता भारत पनि अर्कैको पञ्जामा गईरहेको थियो । भारतमा इष्ट ईण्डिया कम्पनिले आफनो कब्जा जमाईरहेको थियो र नेपालतिर समेत उसले आँखा गढाईरहेको थियो । पश्चिममा नालापानी, यहाँ बुटवलसम्म पनि अगे्रज पसिसकेको अवस्था थियो । नालापानीमा त बच्चा बोकेर पनि महिलाहरू अग्रेजसंग लडिरहेका थिए भने बुटवलमा पनि अग्रेजसंग लडाई भएको थियो । अंग्रेजको त्यो घुसपैठ देखेर पृथ्वी नारायणशाह सशङ्कित थिए । उनी निकै दुरदर्शी चतुर राजा त थिए नै । उनलाई लागेको थियो, नेपालमा फिरङ्गीहरू पसे भने देश बर्बादै पारेर छाडनेछन् । यिनीहरूलाई नेपालमा पस्न दिनुहुन्न भन्ने उनको भनाई थियो । त्यसैले उनले टुक्रा टुक्रामा बिभाजित नेपाललाई एकिकरण गरि एकसूत्रमा बाँध्ने अभियानमा लागे । केही ठाउँहरूलाई गुमाएर भएपनि उनले नेपाल एकिकरण गररै छाडे । भलै बाँकी काम अरूले फत्ते गरे होलान् । पृथ्वीनारायण शाहले एकिकरणको अभियान नचालेका भए नेपाल, नेपाल रहने थिएन । हामी नेपाली हौ भनेर गर्वगर्ने ठाउँ रहने थिएन । त्यसैले पृथ्वीनारायण शाह राष्ट्रपिता हुन र उनीप्रति श्रद्धाले शीर निहुरिन्छ ।
पृथ्वीनारायण शाहको उपदेशमा भनिएको छ– “दषिन (दक्षिण) को समुन्द्रको बादशाह सित घाहा राख्नु, त्यो महा चतुर छ, हिन्दुस्थान दवाई राषेको छ । हिन्दूस्थान जाग्यो भने कठिन पर्ला भनि किल्ला खोज्न आउन्या छ ।” त्यहाँसम्म उनले सोच्दा रहेछन् भन्ने थाहा लाग्छ । तर हाम्रा अहिलेका नेताहरूलाई राष्ट्रको चिन्ता भन्दा बढी सत्ता र शक्तिको चिन्ता छ । आफ्नो र आफ्ना शाखा सन्तानको चिन्ता बढी छ । आफ्ना शाखा सन्तानलाई अवैधकाममा संलग्न गराएर भएपनि पैसा थुपार्ने चिन्ता छ । पृथ्वीनारायण शाहलाई बिस्तारबादी देख्ने र भन्नेहरू आफू सिंगो देशको ठूलो राजा बन्न लडेका हुन् भन्ने गर्छन । कसैले काठमाण्डौ खाल्टो राम्रो देखेर त्यहाँको राजगद्दी हत्याउन लडाई गरेर गद्दी हत्याएका हुन् भन्ने गर्छन् । नाक कान काटिदिएका कुरा गरेर घृणा जगाउने काम गर्छन् । तर मलाई पृथ्वीनारायण शाहले आफ्नो स्वार्थका लागि भन्दा पनि त्यतिबेलाको परिस्थिति अनुसार एकिकरणको अभियानमा कदम चाल्न बाध्य भएका हुन् र त्यो क्रममा केही हानी नोक्सानी भएहोला भन्ने लाग्छ । उनी दूरदर्शी राजा थिए । उनले देशमा पछि आउने समस्याको आँकलन पहिल्यै गरिसकेका रहेछन् । यसमानेमा कि उनले पश्चिमी देशको प्रबेश भयो भने देशमा क्रिश्चियनहरूको हालिमुहाली हुन्छ, नेपालको अस्तित्व रहन्न र मेटिन्छ । यो अहिले आएर सत्य साबित हुँदैछ । यही सोचेर एकिकरण अभियान शुरु गरे होलान् भन्ने लाग्छ । त्यसैले उनले भनेका छन् “यो मुलुक मेरा साना दुषले आज्र्याको मुलुक होईन, सबै जातको फूलबारी हो, सबैलाई चेतना भया ।” हो यो फूलबारीमा अनेक थरि फूल छन् र ति अनेकथरि फूललाई एउटै धागोमा उनेर एउटा सिङ्गो माला बनाईएको छ । सबैथरि फूलहरूको आ– आफ्नै अस्तित्व छ । पृथ्वीनारायण शाहका अनेक वाणीहरूलाई मनन गर्दा “नेपाल दुई ढुङ्गा बीचको तरुल हो । तरुल त हो नै दक्षिणमा ठूलो देश भारत छ र उत्तरमा ठूलो देश चीन छ ।
अर्को कुरा प्रजा मोटा भया दर्बार बलियो रहन्छ भनेका छन् । यो पनि सही नै हो । प्रजाहरूको मुखमा हाँसो भए पो सत्ता बलियो बन्छ । प्रजालाई काखा र पाखा गर्ने, उनीहरूको सुख सुबिधाको ख्याल नगर्ने हो भने सत्ता टिक्दैन बिद्रोह हुन्छ । घुस लिन्या र घुस दिन्या दुबै देशका शत्रु हुन् भन्नेकुरा त अहिलेको ब्यवस्थामा प्रमाणित भईसकेकै छ । त्यस्तै उनले भनेका छन्– महाजनहरूलाई (अंग्रेज ब्यापारी) लाई गोड प्रसाहदेखि उभो आउन नदिनु”, बाटो घाटोको बारेमा पनि उनको भनाई रहेको छ, “पुरव पश्चिमको रस्ता बन्दगरि नेपालको रस्ता चलाई दिउला ।” भन्नुको अर्थ भारतीय नाकाहरू बन्द गरेर नेपालबाट मात्र हिंड्ने ब्यवस्था गरिदिउला भनेको हुनुपर्छ । आफ्नै देशको सामानको प्रयोग गरि कपडा बुन्नु र लाउनु, खेत भएका ठाउँमा घर नवनाउनुँ । बाँझो गह्रो भएका ठाउँमा घर बनाउनु आदी इत्यादी । उनले भनेका कुराहरू कुनै खराव देखिदैनन् । हो खेती योग्य जमिनमा खेती नै गर्नुपर्छ र खेती नहुने बन्जरभूमीमा घर बनाउनु पर्छ । यो भनेको कृषिमा आत्मर्निभर हुनुपर्छ भनेको हो । आफनो देशको लागि यस्तो सोच्ने राजा कसरी खराव मान्न सकिन्छ र ? पहिला हरेक वर्ष पुष २७ गते पृथ्वी जयन्ती मनाईन्थ्यो तर प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जस्ता तन्त्र आएपछि पृथ्वी जयन्तीमा बिर्को लागेको थियो । लोकतन्त्र आएपछि पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्ने जो कोहीलाई घृणाको पात्र बनाईयो । उसको निन्दा भ्रत्सना गरियो । अव अहिले कता कता पृथ्वी जयन्ती मनाउनु पर्छ भन्ने आवाज उठिरहेको छ । सरकारले गत बर्षदेखि सार्वजनिक विदा दिन सुरु गरेको सुनेर खुशी लागेको छ । नेपाल र नेपालीको जय होस् । पृथ्वीनारायण शाहको जयहोस् । पृथ्वीप्रति हार्दिक श्रद्धासुमन ।