© २०२३
अब ऊसँग
केवल
एक सुत्रीय माग छ—
“पुनः रैती हुन पाउँ”
उहीँ मान्छे
हिजो मालिकको पाउमा दाम चढायो
मालिककै विरुद्ध बन्दुकमा बारुद भ¥यो
कहिले रुखको छायामा सुसेल्यो
कहिले घामको न्यानो ताप्यो ।
उहीँ मान्छे
कहिले अनेक वादको बफादार सिपाही बन्यो
कहिले तमाम ‘स्वतन्त्रहरु’को फेरो समाउँदै
आफू ‘स्वतन्त्र’ भएको स्वघोषणा गर्यो ।
कहिले श्रीपेच उठायो
कहिले लौरो उठायो
कहिले बन्दुक उठायो
कहिले शंख फुक्यो
कहिले घण्टी बजायो
फे¥यो पार्टीहरु अनेक
बोक्यो झण्डाहरु अनेक
भारी बोक्यो अनेक नाराको
सपना, अभिलाषा र महत्वाकांक्षाको ।
तर,
खोजेन कहिल्यै आफ्नो विचार
चलाएन कहिल्यै युग बदल्ने कलम
लगाएन कहिल्यै देशको घाउमा मलम ।
नहेरेर ऐनामा अनुहार
सोधिहिंड्छ आफ्नो परिचय,
नचिनेर आफ्ना चाहना
बोकिहिंड्छ भिराएको पहिचान ।
सायद स्वत्व गुमेपछि जीवन पनि निष्प्राण हुन्छ होला
सायद ठगिदाँ ठगिदैँ ठगिनु नै दैनिकी बन्छ होला
दबिदाँ दबिँदै दबिनु पनि बानी बन्दोरहेछ
झुक्दा झुुक्दै झुक्नु नै परिचय बन्दोरहेछ ।
गणतन्त्रले हटाए पछि शिरको भारी
अब ऊ हलुङ्गो भएको छ,
यो भार विहीन जिन्दगी
अपुरो अपुरो भएको छ ।
रित्तो रित्तो भए पछि जिन्दगी
उसलाई निष्प्राण श्रीपेच चाहिएको छ
आफ्नो नागरिक अनुहार नचिनेपछि
उसलाई ‘पुनः रैती हुनुपरेको छ’ ।
बुटवल रुपन्देही ।