© २०२३
भैरहवा, ४ कार्तिक । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा आगामी मंसिर ६ गतेदेखि भैरहवामा हुने छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) सफल पार्न सहयोग गर्ने सरोकारवालाहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले महोत्सव भैरहवाको पहिचान भएकाले यसलाई सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । उद्योग व्यापार संगठन, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको विजया दशमी, दीपावली, नेपाल सम्वत् तथा छठपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा छैठौं लुम्बिनी प्रादेशिक महोत्सवको सल्लाह–सुझाव कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ता (सि.के.) ले महोत्सवको विषयमा मुख्यमन्त्रीसहित मन्त्री परिषदमा जानकारी गराएको भन्दै प्रदेश सरकारबाट सहयोग हुने प्रतिवद्धता जनाए । उनले भने, ‘दशैंपछि महोत्सवबारे सल्लाह गर्छौं र सहयोग गछौंं ।’ मन्त्री गुप्ताले कुनै एउटा जिल्ला र प्रदेशमात्र नभई ७७ वटै जिल्लाको विकासको खाकासहित सिंगो मुलुकको विकासमा अघि बढनुपर्ने बताए । मन्त्रालयबाट बिनियोजन हुने बजेट कुनै नेताको नभई जनताको पैसा भएको भन्दै जनताको विकासका यसको उपयोग गरिने बताए । मन्त्री गुप्ताले उद्योगी–व्यवसायीलाई सम्मान गर्नुपर्ने र सम्मानले उहाँहरुको मनोबल बढ्ने बताए ।
उद्योग व्यापार संगठन, रुपन्देहीका निवर्तमान अध्यक्ष तथा सिद्धार्थ सञ्जाल, रुपन्देहीका संस्थापक अध्यक्ष अनिल कुमार ज्ञवालीले सिंगो प्रदेशलाई समेट्ने महोत्सव सफल पार्न सबैको साथ र सहयोग अवश्य हुने विश्वास व्यक्त गरे । उनले विगतका वर्षहरुको महोत्सव भन्दा यस वर्षको महोत्सव अलि फरक रहेको बताए । उनले निजी क्षेत्रको अवस्था दर्दनाक रहेकोले मन फुकाएर सहयोग गर्न संघ–संस्था तथा सरकारलाई आग्रह गरे । उनले भने, ‘प्रदेश र स्थानीय सरकारबाट सहयोग हुने अपेक्षा गरेका छौं । अहिलेको परिस्थितिमा निजी क्षेत्रबाट कम आशा गर्नुपर्ने अवस्था छ ।’
संगठनका पूर्वअध्यक्ष नारायण प्रसाद भण्डारीले प्रादेशिक महोत्सव यस क्षेत्रकै पहिचान भएको बताए । उनले भैरहवामा आयोजना गरिने महोत्सवलाई सफल पार्न स्थानीय सरकार र प्रदेश सरकारलगायत सबैलाई आग्रह गरे ।
संगठनका अध्यक्ष दर्पण श्रेष्ठले यस्तो विषम परिस्थितिमा जोखिम मोलेर महोत्सव आयोजनाको तयारीमा रहेको भन्दै सबै क्षेत्रबाट साथ र सहयोग आवश्यक रहेको बताए ।
नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका महासचिव जे.पी. कंडेलले महोत्सव सफल पार्न अहोरात्र खट्नुपर्नेमा जोड दिए । उनले महोत्सव सफल पार्ने दायित्व लुम्बिनी प्रदेश सरकारको पनि भएको बताए । उनले भने, ‘अफ्ठयारो परिस्थितिमा सहयोगको आग्रह गरेका छौं ।’
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्याय, सिद्धार्थनगर नगरपालिका–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तव, नेपाल नेत्र ज्योति संघ, रुपन्देहीका कार्यवाहक अध्यक्ष नारायण प्रसाद अग्रवाल, ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय भैरहवाकी ब्रह्माकुमारी सुमित्रा, आस्था महिला उद्यमी संघ भैरहवाकी अध्यक्ष विन्दु न्यौपाने, जेसीआई सिद्धार्थ लेडी, नेपालकी अध्यक्ष गीता गैरे बन्जाडेले महोत्सव सफल पार्न सिद्धार्थनगर नगरपालिका र वडा कार्यालयबाट सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रम संयोजक एवं संगठनकी कार्यसमिति सदस्य माया खनाल, वरिष्ठ उपाध्यक्ष सचिन रोक्का, महासचिव लक्ष्मी अधिकारीले महोत्सव सफल पार्न सहयोग गर्ने बताए । आगामी मंसिर ६ देखि १८ गतेसम्म सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० हुने उद्योग व्यापार संगठन, रुपन्देहीका सचिव तथा प्रवक्ता कृष्ण प्रसाद पाण्डेले बताए ।