© २०२३
बुटवल, २७ असोज ।
रुपन्देही उद्योग संघको अध्यक्षमा नेकपा एमाले र नेपाली कांग्रेस निकट उद्योगीहरुको संयुुक्त प्यानलबाट दिलिप सापकोटा निर्विरोध निर्वाचित भएका छन् । संघको २३ औं अधिवेशन अन्तर्गत आज भएको मनोनयन दर्तामा एकल उम्मेदवारी परेपछि एमाले निकट सापकोटा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । सापकोटा सहित पदाधिकारी र सदस्य गरी १४ जना निर्विरोध निर्वाचित भएका छन् ।
संघको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद पराजुली, प्रथम उपाध्यक्षमा जिवकान्त काफ्ले,महासचिवमा हिरामणि भट्टराई,महिला सचिवमा मन्जु भुसाल निर्वाचित भएका छन् । काफ्ले र भुसाल कांग्रेस निकट हुन् भने बांकी एमाले निकट हुन् ।
यस्तै एशोसिएट सदस्यमा प्रज्ज्वल थान्जु,आजीवन सदस्यमा माधवप्रसाद नेपाल,संस्थागत सदस्यमा गोबिन्दप्रसाद भुसाल,बुटवल औद्योगिक क्षेत्रबाट लालप्रसाद बस्याल,बुटवल उपमहानगर सदस्यमा लालहरि पाण्डे,तिलोत्तमा सदस्यमा रमेशप्रसाद आचार्य,सैनामैना नगरपालिका सदस्यमा नारायण ज्ञवाली र शुद्धोधन गाउंपालिका सदस्यमा टंकनारायण आचार्य निर्विरोध निर्वाचित भएका निर्वाचन प्रमुख यमलाल खनालले जानकारी दिए ।
द्वितीय उपाध्यक्षमा हरिबहादुर खत्री र माया खनाल,कोषाध्यक्षमा युवराज आचार्य र सुरेन्द्र ज्ञवाली,सचिवमा सुमन बस्याल र कमल ज्ञवाली,सहकोषाध्यक्षमा विशाल बेल्बासे र प्रेमबहादुर आलेबीच चुनाव हुने भएको छ । यस्तै २ महिला सदस्यमा मिना थापा तुलाधर,शारदा भट्टराई र शारदा पहारीको उम्मेदवारी परेको छ । खत्री,आचार्य र बस्याल एमाले निकट हुन् भने बांकी माओवादी,राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकिकृत समाजवादी निकट उद्योगीको प्यानलका हुन् ।
यस्तै ८ जना खुल्ला सदस्यमा १५ जनाको उम्मेदवारी परेको छ ।
जसमा एमाले र कांग्रेस निकट उद्योगीहरुको प्यानलबाट ८ जना र माओवादी,राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकिकृत समाजवादी निकट उद्योगीको प्यानलबाट ५ जनाको उम्मेदवारी परेको छ ।