© २०२३
सुनवल, २० असोज ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले समाजिक सद्भाव कायम राख्दै सबै धर्म संस्कृतिको सम्मान गर्नुपर्ने बताएका छन् । शनिबार नवलपरासीको बर्दघाट ६ मा जितिया पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले आफ्नो संस्कृतिको जगेर्ना गर्दै अरुका संस्कृतिलाई सम्मान गरेर अघि बढ्न सकेमात्र भातृत्व कायम गर्न सकिने बताए ।
मुख्यमन्त्री चौधरीले धार्मिक, सांस्कृतिक सद्भाव नै आजको आवश्यकता रहेको उल्लेख गर्दे पछिल्लो समय देशमा सद्भाव खल्बल्याउन खोजिएको भन्दै त्यसतर्फ सबै चनाखो हुनुपर्ने धारणा व्यक्त गरे ।
आफ्नो कला संस्कृतिलाई अब आय आर्जनको बाटो बनाई आर्थिक विकासतर्फ उन्मुख हुनुपर्नेमा पनि मुख्यमन्त्री चौधरीले जोड दिए । “नेपाल बहुभाषिक, बहुजातीय, बहु संस्कृतियुक्त बिविधताले भरिएको मुलुक हो, हामीले यसलाई पर्यटनसँग जोडेर आत्मनिर्भरताको बाटोमा अघि बढौ”–चौधरीले भने ।
सबै कुरा परिवर्तन हुँदै गएकाले अबको आवश्यकता नै आर्थिक समृद्धिको रहेको रहकाले संस्कृतिलाई पनि त्यससंग जोड्नुपर्नेमा उनको जोड थियो । युवाशक्तिलाई स्वरोजगार बनाएर मुलुकमै बस्ने बाताबरण तयार गर्नु पर्ने धारणा व्यक्त गर्दै प्रदेश सरकार आर्थिक बिकासको यात्रामा अघि बढेको चौधरीको भनाई थियो ।