© २०२३
एउटै थियो प्रेमको गन्तव्य
र गन्तव्यका लागि गति
एउटै थियो मायाको गीत
र गीतमा भरिएको संगीत
छोउँ छोउँ त लाग्थ्यो नि !
तर कहिल्यै
छुन सकिन तिमीलाई
न त तिमीले नै
छुन सक्यौ मलाई
पछ्याउँ पछ्याउँ त लाग्थ्यो नि !
तर कहिल्यै
राख्न सकिन मैले आफ्नो पैताला
पैतालाका तिम्रा डोबहरुमा
न त तिमीले नै
सक्यौ पाइला चाल्न
पैतालाका मेरा डोबहरुमा
एकै ठाउँबाट एकैपटक
सँगसँगै हिँडे पनि प्रेमको यात्रामा
एउटै बाटोमा भने
हिँडेका थिएनौं नि त हामी !
तिमी हिँडिरहेका थियौ बायाँ बाटोमा
म हिँडिरहेको थिएँ दायाँ बाटोमा
एक अर्काको
समानान्तर बाटोमा !
समानान्तर यी बाटाहरुले
भेट्लान् एक न एक दिन एकार्कालाई भनेर
समेट्लान् एक न एक दिन एकार्कालाई भनेर
हिँडिरह्यौं हिँडिरह्यौं हिँडिरह्यौं हामी
दिन, महिना, वर्ष र दशकहरु गनेर
घाम झुल्केपछि र घाम डुब्नु अघि
घमाइला हरेक दिनमा
जून उदाएपछि र जून अस्ताउनु अघि
शुक्ल पक्षको हरेक रातमा
एकैछिन नै सही
अँगाल्थे एक अर्कालाई
हाम्रा छायाहरुले
कृष्णपक्षको रातमा भने
विलिन भएर एकापसमा
माया गर्थे एकार्कालाई
हाम्रा छायाँहरुले
एकदिन अचानक
तिमी हिँडिरहेको बाटोमा
मिसिन आइपुग्यो कल्पनातीत एउटा बाटो
त्यही दोबाटोमा टक्क अडियौ तिमी
सोंचमग्न भएर केहीबेर
मायालु हेराइबाट
मानौं जुग जुगदेखिको सारा माया
खन्याएर एकैचोटि ममाथि
हल्लायौ आफ्ना हातहरु
विदा माग्यौ मसँग
र, मोडियौँ बायाँतिर
हेर्दाहेर्दै पुगिसकेका छौ धेरै पर
कामना गरिरहेछु–
तिमी हिँडिरहेको नयाँ बाटो
नहोस् भ्रमको बाटो !
अप्रत्यासित जस्तै
छुट्टिएका थियौ तिमी जहाँबाट
म भने उभिएको छु त्यही जडवत्
नसके झैं समय र उमेरलाई फर्काउन
सक्ने छैन फर्काउन मैले
फेरि पछाडि यो यात्रालाई
यो बाटो–
जीवनको बाटो होस् या मृत्युको
भ्रमको होस् वा सत्यको
प्रेमको बाटो होस् वा पीडाको
हिँड्नु नै छ मलाई एक्लै
तर हुने छैन म एक्लो
तिमीबिनाको अधुरो यो यात्रामा
मसँग हुनेछन् तिम्रा अनन्त स्मृतिहरु
र, तिमीले छोडि हिँडेको
चिरपरिचित यो समानान्तर बाटो
एक्लो–
एकदमै एक्लो त विचरा
हुनेछ मेरो छायाँ !