© २०२३
धनगढी, २६ भदौ ।
कैलाली हार्डवेयर संघको आयोजनामा धनगढीमा तेस्रो निर्माण सामग्री तथा हार्डवेयर एक्सपो २०८० हुने भएको छ ।
व्यवसायीका र वस्तुगत बजार विकासका लागि २०७५ सालदेखि सुरु भएको एक्सपो कोभिड महामारीका कारण प्रभावित भएको थियो । यस वर्षदेखि पुन निरन्तरता दिइन लागेको मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।
असोज १० गतेदेखि चार दिनसम्म धनगढीस्थित होटेल सौराईं स्क्वायर प्यालेसमा हुने एक्सपोले पूर्वाधार निर्माणका लागि चाहिने सरिया, सिमेन्ट, सेक्सन, जिआइतार, सेनेट्री टायल्स तथा होम डेकोरेसनको लागि चाहिने सबै सामानहरू अवलोकनकर्ताको सामु प्रत्यक्ष रूपमा प्रदर्शन गरिनुका साथै इन्जिनियर, आर्किटेक्चर, आन्तरिक डिजाइनर आफ्ना निर्माणका लागि स्पष्ट योजना तयार गर्न सक्ने आयोजक संस्थाका अध्यक्ष कुवेर शाहीले जानकारी दिए ।
उनका अनुसार एक्सपोमा नयाँ प्रविधि, उपकरण र मेसिनहरू रहनुका साथै वास्तु विज्ञबाट निःशुल्क परामर्श, सामानको गुणस्तर र मूल्यको तुलना गर्दै उत्कृष्ट सामग्री छनौट गर्न सकिने छ ।
एक्स्पोमा देशका विभिन्न स्थान तथा बाह्य राष्ट्रका गरी हार्डवेयर कम्पनीका ५० भन्दा बढी व्यवसायीहरूको स्टल रहने छ । सो एक्स्पोमा अवलोकन गर्न चाहनेलाई प्रवेश निःशल्क गरिनुका साथै स्टलमा खरिद गर्दा छुटसहितको योजना तथा लक्की ड्रमार्फत अवलोकनकर्ता मध्ये पाँच जनालाई आकर्षक पुरस्कार र अन्तिम दिन तीन जना भाग्यमानी अवलोकनकर्तालाई बम्पर उपहार प्रदान गरिने आयोजकले जनाएको छ ।