© २०२३
बुटवल,१६ भदौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चाको नाममा नाटक मञ्चन गरिरहेको बताएका छन् । समाजवादी मोर्चामा संविधान जलाउने र संविधान मान्ने, संसदीय व्यवस्था मान्ने र नमान्ने, एमसीसीका पक्षपाती र विरोधी शक्ति मिलेको भन्दै मोर्चा देखाएर कांग्रेसलाई तर्साउने र सत्ताको आयू लम्ब्याउने नाटक मात्र भइरहेको बताए । प्रधानमन्त्री प्रचण्ड र उनको पार्टीले राजनीतिक अस्थिरता, सामाजिक र जातीय सद्भाव खल्बलाउने काम गरिरहेको भन्दै पोखरेलले एमालेलाई बलियो राष्ट्रिय शक्तिको रुपमा उभ्याउनुपर्नेमा जोड दिए ।
बुटवलमा आयोजित प्रदेश अधिवेशनको उद्घाटन समारोहमा पोखरेलले पार्टी उपाध्यक्ष विष्णु पौडेल र आफूबीच कुनै प्रतिस्पर्धा नरहेको बताएका छन् ।
यो अधिवेशनले पार्टी एकताको सन्देश दिनुपर्ने बताए ।
‘उनले लुम्बिनी प्रदेश अधिवेशनले दिने सन्देशले अरु प्रदेशलाई मार्गनिर्देशन दिने पनि बताए ।
एमालेभित्र केपी ओलीको नेतृत्वमा सिंगो पार्टी एकतावद्ध रहेको भन्दै महासचिव पोखरेलले २०८४ सालको चुनावमा बहुमत ल्याउन लुम्बिनी अधिवेशनबाट एकताको सन्देश दिन जरुरी रहेको धारणा राखे ।
राजनीतिक अस्थिरता र सामाजिक अराजकता देशको मुख्य समस्या भन्दै महासचिव पोखरेलले धेरै दलहरु हुँदा झन् राजनीतिक अस्थिरता बढेकाले एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउनुपर्ने बताए ।
‘जति धेरै राजनीतिक दल उति धेरै अस्थिरता मुलुकले भोगेको पोखरेलले बताए ।