© २०२३
दाङ, ११ भदौ ।
तुलसीपुर उपमहानगरपालिका र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको संयुक्त आयोजना र तयार नेपालको सहयोगमा भुकम्प प्रतिरोधि संरचना निर्माण तालिम दिइएको छ ।
तुलसीपुर उपमहानगरपालिकाले भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि जनशक्ति तयार पारेको हो । पालिकाभित्र निर्माण गरिने संरचना भूकम्प प्रतिरोधी निर्माण गर्नका लागि पालिकाभित्रका ३२ जना मिस्त्रीलाई सात दिनसम्म प्रयोगात्मक सीप प्रदान गरेर जनशक्ति तयार पारेको हो ।
नगरप्रमुख टीकाराम खड्काले पालिकाभित्र निर्माण गरिने संरचनालाई भूकम्प प्रतिरोधी तरिकाले निर्माण गर्नका लागि सीप प्रदान गरिएको बताए । उनले विगतको सीपलाई थप दक्षता हासिल गर्न सकेकाले प्रशिक्षार्थीलाई गाउँ समाजमा पुगेर सिकाउन आग्रह गरे । उनले सिकेको सीपलाई स्वरोजगारसँग जोड्न आग्रह गरे ।
प्रशिक्षक अनुप पौडेलले प्राविधिक संरचना निर्माण स्थलमा पटक पटक पुग्न नसक्ने भएकाले संरचना निर्माणका लागि सीप प्रदान गरेसंगै मिस्त्रीहरुमा दक्षता बढेको बताए । उनले विगतमा संरचना निर्माणको अनुभवलाई थप परिष्कृत बनाउन सकिएको बताए । कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।