© २०२३
बाँके, १० भदौ ।
बाँकेको खजुरा गाउँपालिका अध्यक्ष एवम् नेकपा माओवादी केन्द्रका नेता डम्बर विक तुफानले निबर्तमान अध्यक्ष किस्मतकुमार कक्षपतिबारे अमानवीय र अपशब्द बोलेका छन् ।
एमाले पोलिटब्युरो सदस्य एवम् बाँके इन्चार्ज खेममान खड्काले भदौ ५ गते गाउँपालिका अध्यक्ष हुँदा कक्षपतिले प्रयोग गर्ने सरकारी फोन नम्बरमा फोन गरेका थिए । जुन फोन नम्बर पालिकाका अहिलेका अध्यक्ष विकले प्रयोग गर्दै आएका छन् । खड्काले कक्षपति जि हो ? भन्ने बित्तिकै विकले ‘किस्मत त मरेर मिट्टी दिइसकेको’ भन्दै अभद्र भाषाशैलीमा प्रस्तुत भएका थिए ।
कक्षपति खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् । पहिले उनैले चलाउने पालिकाको अफिसियल फोनमा खड्काले फोन गरेका थिए । २०७९ को स्थानीय निर्वाचनबाट विक पालिका अध्यक्ष निर्वाचित भएपछि उनले सोही नम्बर चलाइरहेका छन् ।
पालिका अध्यक्षजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिको त्यस्तो भाषाशैली हुनु आपत्तिजनक रहेको भन्दै एमाले बाँकेको प्रचार विभागले पत्रकार सम्मेलन गरेर भत्र्सना गरेको छ । प्रचार विभाग प्रमुख सतिश निरौलाले पालिका अध्यक्षको अभिव्यक्ति अमर्यादित, गैरजिम्मेवार र गालीगलौचपूर्ण रहेको भन्दै नेताहरूले कानुनी उपचार खोज्ने बताए ।
अध्यक्ष विकले पनि आफूबाट कमजोरी भएको स्वीकार गरेका छन् । ‘म साथीभाईसँग बसेको थिएँ । उहाँको फोन नम्बर हैन भनेर दुईपटक काट्दासमेत फोन आएपछि त्यो स्थिति आएको हो,’ उनले भने, ‘गल्ती कमजोरी भएको रियलाइज गरेको छु । उहाँहरूसँग बसेरै यो विवादलाई अन्त्य गर्छु ।’