© २०२३
बुटवल, १० भदौ ।
जन जनमा माओवादी मनमनमा माओवादी भन्ने मुल नाराका साथ माओवादी केन्द्र पाल्पाले तीन महिने विशेष रुपान्तरण अभियान सबै पालिकाहरुमा शुरु गरेको छ । केन्द्रीय अभियानले पार्टीको सबैभन्दा तल्लो इकाई वडा कमिटीलाई सुदृढ गर्न जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गर्न लागिएको हो ।
माओवादी केन्द्रले सुरु गरेको जनतासंग माओवादी बिशेष रुपान्तरण अभियानलाई सार्थकता दिदैँ पाल्पा स्थित तिनाउ गाउँ कमिटिको विस्तारित बैठक शनिवार सम्पन्न भएको छ ।
कार्यक्रमको उदघाटन गर्दै पार्टीका केन्द्रीय सदस्य इन्द्रजित चौधरीले पार्टीलाई बदल्नका लागि रुपान्तरण अभियान ल्याएको बताउँदै देशको नेतृत्व गर्न सक्ने र निर्णयक पार्टी माओवादी नै भएको कारण पार्टी भित्र पनि अव परिर्वतन आवश्यक रहेको बताए । उनले भने, “माओवादीले हिजो गरेको आन्दोलनबाट देशको ब्यवस्था बदलिएको हो र अब जनताको अवस्था बदल्न तीन महिने अभियानको उद्देश्य हो ।” नेपाली अर्थतन्त्रमा रहेको दलाल पँुजीबादको दवदवा अन्त्य गर्दै, सामन्तवादी आर्थिक आधार भत्काउँदै औद्योगिक पुँजीको स्थापना, आत्मनिर्भर अर्थतन्त्र र राष्ट्रिय पुँजीको निर्माणका लागि अहिलेको अभियान भ्रष्टाचार बिरुद्धको अभियान पनि भएको बताए ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने, बामपन्थी एवं समाजवादी धारको जगमा राष्ट्रिय शक्तिको विकास गर्दै समाजवादको आधार तयार पार्ने अभियानको उद्देश्य हो,’ उनले भने, ‘अभियानलाई प्रभावकारी बनाउन सबै आ–आफ्नो क्षेत्रबाट तिब्र गतीमा खटिनु पर्छ ।’
“मौलिक हकको कार्यन्वयन गर्नका लागि आर्थिक क्रान्ति गर्नुपर्छ सरकार र जनता आर्थिक लगानीमा जोडिएर राष्ट्रिय पुँजीको निर्माण गर्न जरुरी छ तव मात्रै सम्भव हुन्छ मौलिक अधिकार”–उनले भने । राज्यले लगाउने लागानी पनि नाफाउन्मुख हुनुपर्ने र जसले जनताको हित र जिवनस्तर बृद्धि गरी जनताले प्रत्यक्ष लाभ लिन पाउनु पर्ने चौधरीले बताए ।
त्यस्तै तिनाउ गाउँपालिक अध्यक्ष दिनेश जिसीले पार्टीको यो अभियानले पार्टीको तौल निर्धारण गर्ने र कार्यकर्ताको मुल्यांकन गर्ने समय भएकोले अभियानभर सक्रिय भएर अभियान सफल गराउन आवश्यक रहेको बताए । भदौ १६ गते नेपालभरका सबै वडाहरुमा एकै साथ उदघघाटन हुने तीन महिने बिशेष अभियानको कार्यक्रम पनि जन चाहना अनुसार जनसेवकको रुपमा जनस्तरमै श्रमदान गरेर कार्यक्रम उदघाटन गर्ने तयारी गरेको अध्यक्ष जिसिले बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रिय सदस्य चक्र ब्यु थापा, प्रदेश सदस्य राजेश श्रेष्ठ, केशव पोखरेल लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा सहिद अबिरललाई सम्मान गर्दै अविरल पार्कमा वृक्षारोपण पनि गरिएको थियो ।