© २०२३
बुटवल, ९ भदौ ।
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको भदौ १६ र १७ गते बुटवलमा हुने प्रथम अधिवेशनका लागि आज प्रतिनिधि छनौट गरिंदै छ । प्रदेशमा रहेका १०९ वटै पालिकामा र सबै जनसंगठनबाट प्रतिनिधि छनोट सुरु गरिएको हो ।
केही पालिका र जनसंगठनमा निर्विरोध रुपमा प्रतिनिधि छनौट भएपनि अधिकांश ठाउँमा आकांक्षी धेरै भएकाले निर्वाचनबाट प्रतिनिधि छानिंदै छ । प्रदेशमा १ हजार ४ जना प्रतिनिधि रहनेछन् । एमालेले यो पटकदेखि सबै सहभागी प्रतिनिधिलाई भूगोलबाट नै अनिवार्यरुपमा निर्वाचित भएर आउनुपर्ने विधि तय गरेकाले र सबै क्षेत्रमा एकैपटक प्रतिनिधि छान्ने समय तोकेकाले पनि सबैलाई आफ्नो भूगोलमा केन्द्रित हुनुपरेको प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले बताए ।
अधिवेशन बुटवल १० रामनगरस्थित बुटवल अन्तर्राष्ट्रिय सभाहलमा हुँदैछ । अधिवेशनमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायतका नेताहरु आउने निश्चित भइसकेको छ ।
प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले प्रतिनिधि छनौटका लागि निर्वाचन सुरु भएको बताए । कुल ८२ हजार ३ सय ३ पार्टी सदस्य रहेको एमाले लुम्बिनीमा अधिवेशनका लागि १ हजार ४ जना प्रतिनिधि छनोटका लागि मतदान सुरु भएको हो ।
प्रदेश कमिटी सदस्य मोहन चापागाईले प्रादेशिक संरचनामा हुन लागेको पहिलो अधिवेशन भएकाले पनि नमुना ढंगले अधिवेशन पूरा गर्नुपर्ने र सबैको चासो बढेको बताए । उनले अधिवेशन प्रतिनिधिलाई खानाको व्यवस्था गरिएपनि होटलको व्यवस्थापन आफैले गर्नुपर्ने नियम बनाइएको बताए ।
अधिवेशनको सन्दर्भमा प्रचार विभागले सम्पादकहरुसंग मिडियामार्फत् सहयोगको लागि अन्तक्र्रिया गर्ने, १४ गते पत्रकार सम्मेलन गरेर तयारीका बारेमा जानकारी दिने, उदघाटनको दिन पार्टीको वेभसाइटसहित न्युज पोर्टल लुम्विनी सन्देश डट कमको सार्वजनिक गर्ने, वेभसाइटका लागि तयारी गर्ने प्रचार विभाग प्रमुख घिमिरेले जानकारी दिए ।
यो पटक अधिवेशनमा प्रतिनिधि छानिन एमालेले केही कडा नियम बनाएको छ । पार्टी केन्द्रबाट २०८० सालको नवीकरण भई प्रमाणित भएको सदस्यता विवरणका आधारमा छनौट गर्ने, प्रतिनिधि छनौटको आवश्यक योजनासहितको व्यवस्थापन जिल्ला कमिटीले गर्ने, प्रतिनिधि छनौटको इकाई (क्षेत्र) गाउँपालिका÷नगरपालिका र उपमहानगर पालिकालाई बनाउने १०० जना पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छनौट गर्ने, १५० भन्दा बढी सदस्य भएको खण्डमा २ जना, २५० जना सदस्य भएमा ३ जना प्रतिनिधि चयन गर्ने, यसरी ५० भन्दा माथि शेष भएमा १ जना थप गर्दै जाने विधि बनाइएको छ । त्यसैगरी दलित समुदायको हकमा ७५ जना पार्टी सदस्य संख्या बराबर १ जना प्रतिनिधि हुने, शेष संख्या ५० प्रतिशतभन्दा धेरै भएमा थप १ जना प्रनितिधि हुने, हरेक ३ जनामा १ जना महिला अनिवार्य हुनुपर्ने, २ जना मात्र प्रतिनिधि भएका १ जना महिला अनिवार्य, ५ जना प्रतिनिधि भएमा २ जना महिला, ८ जना भएमा ३ जना महिला अनिवार्य हुनुपर्ने र यसरी जम्मा हुने प्रतिनिधि संख्यामा ३३ प्रतिशत महिला प्रतिनिधि अनिवार्य हुनुपर्ने विधि बनाइएको छ ।
प्रतिनिधि छनौट गर्दा दलित समुदायको संख्या घटाएर मात्र अन्यको गणना हुनेछ । दलित सदस्यले अन्य तथा खुल्लामा जान चाहेमा प्रतिनिधि छनौटको दिनभन्दा ३ दिन अगावै जिल्ला कार्यालयमा निवेदन दिनुपर्नेछ । त्यसैगरी जनसंगठनको हकमा महासंघ भएकोबाट ५ जना र अन्य जनसंगठनहरुको हकमा ३ जना प्रदेश कमिटीबाट छनौट गर्नुपर्ने, प्रतिनिधि छनौट गर्दा समावेशीलाई ध्यान दिने, अनेमसंघबाहेक अन्य जनसंगठनहरुमा प्रतिनिधि ५ जना हुनेबाट २ महिला र ३ जना हुनेबाट १ महिला अनिवार्य हुनुपर्ने, जनसंगठनको प्रतिनिधित्व गर्न पार्टी सदस्य भएको र २०८० सालको नवीकरण भई प्रमाणित गरेको सुचिमा नाम भएको हुनुपर्ने नियम बनाइएको छ ।