© २०२३
दाङ, १ भदौ ।
दाङमा जंगली च्याउ खाएर थप एक जनको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेका आमा–छोरीको मृत्यु भएको हो । बुबाको अवस्था गम्भीर रहेको छ ।
साउन २८ गते साँझ बंगलाचुली–४ जंगलबाट खोजेर ल्याएको जंगली च्याउ खाएर बिरामी परेका तीन जनामध्ये दुई जना अर्थात एकै घरका आमा–छोरीको मृत्यु भएको हो ।
च्याउ खाएर गम्भीर बिरामी परेकी बंगलाचुली ४ की २७ वर्षीया ईश्वरी सुनारको उपचारका क्रममा शुक्रवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो । यसअघि उनकी ११ वर्षीया छोरी अस्मिता सुनारको साउन ३२ गते (बिहीवार) उपचारका क्रममा बुटवलमा मृत्यु भएको थियो । गम्भीर घाइते भएका अस्मिताका बाबु अजय सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । उनको अबस्थापनि गम्भीर रहेको जनाइएको छ । घर नजिकैको जंगलबाट ल्याएर उनीहरुले च्याउको तरकारी खाएका थिए ।