© २०२३
बुटवल, १ भदौ ।
लुम्बिनी प्रदेशभित्र रहेका सञ्चारमाध्यमहरुको संस्थागत विकास र व्यावसायिक एकरुपता कायम गर्ने मुख्य उद्देश्यसहित बुटवलमा मिडिया सम्मेलन सुरु भएको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा सुरु भएको मिडिया सम्मेलनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उदघाटन गरेका छन् । सम्मेलनमा लुम्बिनी प्रदेशका छापा माध्यम, रेडियो, टेलिभिजन तथा अनलाइन मिडियाहरु सहभागी छन ।
प्रकाशन तथा प्रसारण संघले यसरी मिडिया सम्मेलन गरेको यो पहिलोपटक हो । मिडिया सम्मेलनबाट लुम्बिनी प्रदेशको विकासमा यस क्षेत्रका मिडियाहरुको भूमिका र लुम्बिनी प्रदेशमा मिडियाहरुको अवस्थाका विषयमा छलफल हुने प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुँवरले जानकारी दिए । “सम्मेलनमा सञ्चारमाध्यमले खेल्दै आएको भूमिका, उनीहरुको संस्थागत विकासका साथै रोजगारी र पेशागत सुरक्षाका विषयमा समेत बहस र छलफल हुनेछ”–उनले भने । कुँवरका अनुसार सम्मेलनमा छापा माध्यम, विद्युतीय तथा अनलाइन प्रकाशन तथा प्रसारण संस्थाहरुबाट करिव १२५ जना सञ्चालक तथा प्रकाशकहरुको सहभागिता रहेको छ।
मिडिया सम्मेलनमा सञ्चारमाध्यमको हक हितका साथै वृत्ति विकास र पेशागत सुरक्षाको बारेमा पनि छलफल हुने संघका उपाध्यक्ष बिष्णु भूषालले बताए । सम्मेलनमा वरिष्ठ पत्रकार युवराज घिमिरेले सम्पादकीय सन्दर्भमा तथा हिमाल खवर पत्रिकाका प्रकाशक कनकमणि दीक्षितले मिडिया व्यवस्थापनका सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्ने संघका सचिव माधव नेपालले जानकारी गराए ।