© २०२३
दाङ, ३२ साउन ।
नेपाल पत्रकार महासंघ दाङले पत्रकार आचारसंहिताको पालना गर्न आग्रह गरेको छ । पत्रकारले पेशाको दुरुपयोग गरेर अनावश्यक सुविधा लिनेलगायतका आचारसंहिताविपरितका कार्य नगर्न आग्रह गरेको हो ।
महासंघले पत्रकारिता पेशालाई दुरुपयोग नगरी काम गर्न आग्रह गरेको छ । पत्रकारले सुविधा माग गरे महासंघलाई जानकारी दिन पनि सबैमा अनुरोध गरेको छ । यसैगरी बैठकले प्रगन्ना कुलो खन्ने क्रममा अनियमितता भएको भन्ने घटनामा पत्रकारको संलग्नता सम्बन्धी अध्ययन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन पारित गर्दै नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश समितिमार्फत केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाउने निर्णय गरेको छ ।
घटनामा पत्रकारले रकम बुझेको यथेष्ट प्रमाण प्राप्त नभए पनि पत्रकारहरु समाचार सम्प्रेषण वाहेक अनावश्यक गतिविधिमा आचारसंहिता विपरित संलग्न भएको पाइएकाले देउखुरीका पत्रकारहरु बिदुर एमसी र अर्जुन अधिकारीको यसअघि पत्रकार महासंघको सदस्यता शुद्धिकरणकै क्रममा सदस्यता नविकरण नगर्ने निर्णय भएकाले सोही अनुसार कार्यान्वयन गर्ने र देउखुरीका पत्रकार सन्तोषकुमार गुप्तालाई आगामी दिनमा आचारसंहिता पालना गरेर काम गर्न सचेत पार्ने निर्णय गरेको महासंघका अध्यक्ष दुर्गालाल केसी र सचिव आरके शितलले जारी गरेको विज्ञाप्तीमा उल्लेख गरिएको छ ।