© २०२३
पाल्पा, २९ साउन ।
गत वर्षको वैशाखमा ढलाई गरी निर्माण कार्य पूरा गरेको सडकलाई डोजरको प्रयोग गरी भत्काइएको छ ।
तानसेन नगरको वडा नं. ७ को कारागार पछाडिको गोरेटो सडक वडा कार्यालयको २५ हजार, स्थानीय जनताको १५ हजार गरी जम्मा ४० हजार रुपैयाँको लागतमा २५ मिटर लम्बाई १ मिटर चौडाईको सडक स्थानीय कृष्ण राना मगरले डोजरको प्रयोग गरी भत्काएका हुन् ।
नापी कार्यालयको नाप नक्सामा स्पष्ट रुपमा गोरेटो बाटो उल्लेख भए पनि स्थानीयले आफ्नो जमिन अतिक्रमण गरी ढलान गरेकाले रानाले उक्त सडक डोजरको प्रयोग गरी भत्काएका हुन् ।
स्थानीयले भने नाप नक्शामा पुरानो गोरेटो बाटोमा कालोपत्रे गरेको रानाको जमिन अतिक्रमण नगरेको दावी गर्दै रानालाई कारवाहीको लागि वडा कार्यालय समक्ष माग गरेका छन् । वडा अध्यक्ष सागर महर्जन भने–“बाटो ढलान गर्दाकै समयमै सामान्य विवाद थियो, हतार गरेर डोजरको प्रयोग गरेर भत्काउनु पर्ने थिएन । आपसी समझदारीमा मिल्ने थियो ।”
पुनः एक पटक नगर पालिकाबाट इन्जिनियर, अमिनलाई सम्बन्धित स्थानमा लगेर पुनः नाप जाँच गरी समस्याको समाधान गर्ने बताउँदै वडाअध्यक्ष महर्जनले एक व्यक्तिले सार्वजनिक जमिन अतिक्रमण गरेको र तिनलाई पत्राचार गरिएको बताए । स्थानीयले भने यसरी दु.ख मेहनतबाट पक्की ढलान गरिएको भन्दै अतिक्रमित जमिन फिर्ता गराउन वडा, नगर सरकारलाई दवाव दिएका छन् ।