© २०२३
सुनवल, २७ साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपाले देशैभर व्लुबस चलाउन सक्ने बताएका छन् । शनिबार पश्चिम नवलपरासीको बर्दघाटमा आयोजित रास्वपा क्षेत्र नम्बर १ को क्षेत्रिय भेलालाई सम्बोधन गर्दे लामिछानेले ब्लुबसको विरोध गर्नुको अर्थ नभएको बताए ।
‘मान्छेहरू हामीविरुद्ध मरिमेटेर लागेका छन्, केही काम बाहिर जानकारी नदिई हतारमा पनि गर्नुपर्ने हुन्छ । त्यसैले गल्ती भएका हुन पनि सक्छन् तर हामीले भरतपुर मात्र होईन देशभर ब्लु बस चलाउँछौ”– लामिछानेले भने ।
पुर्व गृहमन्त्री समेत रहेका लामिछानेले भ्रष्टाचारको सही छानविन हुन सके प्रायः सबै नेताहरु जेल जान सक्ने बताए । ‘सरकारले सबै काण्डको छानविन गर्न सक्नुपर्यो, औलामा गन्न सकिने नेताहरु मात्र बाँकी रहन्छन्”– लामिछानेले भने । सरकारले हिम्मत गरेर सबै काण्डका छानविन गर्नुपर्नेमा जोड दिदै लामिछानेले तर त्यसो नहुने भएकाले रास्वपाले निरन्तर खबरदारी गर्ने बताए ।
मुलुकमा दल र नेतृत्वको अभाव नभई ईमान्दारिताको अभाव भएको बताउँदै यो देश सतीले सरापेको नभई जुकाहरूले चुसेको कारण बिग्रिएको टिप्पणी गरे । प्रदेश सरकारका बिषयमा चर्चा गर्दै लामिछानेले प्रदेश सरकारको औचित्य नभएको बताए । प्रदेश सरकार केवल कार्यकर्ता सेट गर्ने र दलहरुले नेता थन्क्याउने थलो भएको बताउँदै प्रदेश सरकार जनताका सवालमा प्रभावकारी हुन नसकेको उल्लेख गरे ।