© २०२३
भैरहवा, २५ साउन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको बिहीबार जारी १४ औं विशेष नगर सभामा पत्रकारलाई कार्यक्रममा जान रोक लगाइएको छ ।
नगरपालिकाको विशेष नगरसभा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ स्थित युनिक बैंकवेटमा जारी छ ।
आन्तरिक कार्यक्रम हो भन्दै पत्रकारलाई समाचार संकलनका लागि कार्यक्रम स्थलमा जानबाट रोक लगाइएको हो ।
एकीकृत सम्पत्ति करको विषयमा छलफल गर्नका लागि नगरपालिकाले विशेष सभा बोलाएको हो । उक्त बैठकमा जनप्रतिनिधिले पत्रकारलाई कार्यक्रममा बोलाएका थिए । तर नगरपालिकाका प्रेस सल्लाहकार सलमान खानले कार्यक्रम स्थलमा समाचार संकलनका लागि पुगेका दुई जना पत्रकारलाई यो आन्तरिक कार्यक्रम हो भन्दै समाचार संकलनमा रोक लगाएका छन् । प्रेस सल्लाहकारले कार्यक्षेत्र नाघेर पत्रकारलाई समाचार संकलनमा रोक लगाउनु खेदजनक भएको नगर सभामा जान नपाएका पत्रकारले दुखेसो पोखेका छन् ।
सिद्धार्थनगर नगरपालिका जनताको ढाड सेक्ने गरी एकीकृत सम्पत्ति कर बढाएको भन्दै त्यसको चौतर्फी आलोचना तथा विरोध भइरहेको छ ।