© २०२३
बुटवल, २४ साउन ।
लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले विभेदमा पारिएका समुदायको उत्थान र हक अधिकार स्थापित गर्ने सन्दर्भमा लुम्विनी प्रदेश सभा महत्वपूर्ण नीति र कानुन निर्माणमा प्रतिवद्ध रहेको उल्लेख गरेका छन् । २९ औं विश्व आदिवासी दिवसको अवसरमा शुभकामना दिंदै उनले यस्तो बताएका हुन् ।
सभामुख घर्तीमगरले बुधवार विहान जारी गरेको शुभकामा सन्देशमा माओवादी जनयुद्ध तथा जनआन्दोलन, क्रान्ति र संघर्षमा आदिवासी जनजाति समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै आन्दोलनबाट प्राप्त गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीता जस्ता महत्वपूर्ण राजनीतिक उपलब्धिहरुलाई संस्थागत विकास गर्दै समाजवादमा पुग्ने लक्ष्यमा दृढताका साथ लाग्नु आजको आवश्यकता रहेको उल्लेख गरेका छन् । उनले समुदायबीच आपसी सम्वन्ध र भातृत्वको विकास गर्न दिवसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
एउटा समुदायले अर्काे समुदायलाई सम्मान गर्ने, अस्तित्व स्वीकार गर्ने र आत्मसम्मान गर्ने वातावरण श्रृजना गरी एकतावद्ध हुन आवश्यक रहेको र एकले अर्का समुदायमा असन्तुष्टी पैदा हुने कार्यबाट सबै सतर्क बन्नु जरुरी रहेको समेत शुभकामना सन्देशमा उल्लेख गरेका छन् । आफ्नो अधिकारको लागि संगठित भई आवाज उठाउँदै आएका आदिवासी जनजाति समुदायको सशक्तिकरण गर्न र आर्थिक रुपमा समेत यो समुदायलाई सशक्त बनाउँदै राज्य संचालनमा पहुंच वृद्धि गर्न आदिवासी युवाहरुको सक्रियता र सशक्तिकरणमा जोड दिनु पर्ने आवश्यकता उनले औंल्याएका छन् ।
सभामुख घर्ती मगरले शुभकामना सन्देशमा आदिवासी जनजातिका अगुवाहरुले सोही अनुसारको नीति अवलम्वन गरी सिंगो आदिवासी जनजातिको अभियानलाई सफल बनाउन तथा आदिवासी समुदायको बृहत्तर हितको लागि युवा पंक्तिलाई अगाडि वढाउन पनि यो दिवसले प्रेरणा प्रदान गर्ने उल्लेख गरेका छन् ।