© २०२३
‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरूको प्रतिबद्धता’ भन्ने नाराका साथ सुरु भएको विश्व स्तनपान सप्ताहको आज अन्तिम दिन । यो बर्षको नाराले कामकाजी महिलाहरूलाई लक्षित गरि नानी बाबुलाई स्तनपान गराउन महत्वपूर्ण सन्देश दिएको छ । नवजात शिशुका लागि आमाको दुध कति पोषणयुक्त हुन्छ भन्ने नजान्दा विश्वमा धेरै नावालक वालबालिकाको मृत्यु हुने गरेको छ । नेपालकै सन्दर्भमा समेत स्तनपानको महत्व नवुझ्दा धेरै आमाहरूले शिशुलाई दुध खुवाउन अनिच्छा देखाउँदै आएका छन । अझै आफू सुन्दर देखिने नाममा बच्चालाई दुध नचुसाउने गरेको पाइएको छ । यसरी नवजात शिशुको आमाको दुध पिउन पाउने अधिकारको जानेर वा नजानेर हनन् भैरहेको छ । जसका कारण धेरै शिशु अकालमा मृत्युको मुखमा पुग्न विवस भएका छन । स्तनपान अमृत समान हुने गरेको वैज्ञानिक पुष्टी भैसकेको सन्दर्भमा यसको महत्वका विषयमा अझै आमाहरूलाई जानकारी दिनु जरुरी छ ।
नवजात शिशुलाई पोषणको नाममा विभिन्न किसिमका बजारीय दुध खुवाउने क्रम बढ्दो छ । त्यस्ता पाउडर दुधले एकातिर शिशुको स्वास्थ्यमा असर पुगिरहेको हुन्छ भने अर्कोतिर त्यसका कारण अनेकथरि रोगको शिकार समेत हुने गरेको धेरै उदाहरण छन । शिशुलाई आमाको दुध नै सर्वोत्तम हुने भएपनि त्यसको विषयमा धेरै जानकारी नहुँदा आमाहरूले शिशुहरूलाई रोगी र कमजोर वनाउँदै लगेका छन । ६ महिनासम्म बच्चालाई सहि तरीकाले स्तनपान गराउँदा पनि त्यो अमृत समान हुन्छ । ६ महिनासम्म पूर्णरूपमा आमाको दुध मात्र खुवाए शिशुलाई कुनै रोगले नसमात्ने र कुपोषण नहुने हुनसक्छ । बच्चालाई दुधको मात्रा पु¥याउन क्याल्सीयम युक्त खानेकुराहरू पनि दिनुपर्ने जरुरी छ । जेहोस स्तनपान सप्ताहको यो अवसरमा नेपालमा पनि आमाहरूले आफ्ना शिशुहरूलाई सही रूपमा स्तनपान गराएर शिशुको स्वास्थ्यमा गंभीर ध्यान दिनुपर्दछ । त्यसका लागि फेरिपनि स्तनपानको महत्वका विषयमा ग्रामिण क्षेत्रदेखि शहरसम्म महिलाहरूमा सचेतना बढाउनु आवश्यक देखिएको छ ।
अर्कोतर्फ कामकाजी आमाका लागि कार्यस्थलमा स्तनपान कक्ष नहुँदा ६ महिनासम्म स्तनपान गर्न पाउने शिशुको सङ्ख्या घट्दै गएको देखिएको छ । धेरैजसो महिला शिशुलाई घरमा नै छाडेर कामकाजमा जाने र कार्यालयमा स्तनपान कक्ष नभएकाले शिशुले स्तनपान गर्न नपाएको अवस्था छ । सुत्केरीपछि आमा काममा फर्किनुपर्ने कारणले गर्दा स्तनपानलाई निरन्तरता दिन आमाले चुनौती व्यहोर्नु परेको छ । जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को प्रतिवेदनमा नेपालमा छ महिनाभन्दा मुनिका ५६ प्रतिशत शिशुलाई पूर्णरूपमा स्तनपान गराइएको छ । जबकी जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ को प्रतिवेदनमा ६६ प्रतिशतले शिशु जन्मेको छ महिनाभित्रमा स्तनपान गराएको थियो । यसरी स्तनपान गराउनेको संख्यामा १० प्रतिशतले कमी आएको छ । कामकाजी महिलाले सुत्केरीबाट काममा फर्केपछि पनि छ महिनासम्म शिशुलाई आफ्नो दूध मात्र खुवाएर पूर्ण स्तनपान गराउनुपर्ने हुन्छ । तर, विभिन्न कारणले कार्यस्थलको सुरक्षा अभाव देखिएको छ । ६ महिनासम्म पूर्णरूपमा आमाको दुध मात्र खुवाए शिशुलाई कुनै रोगले नसमात्ने र कुपोषण नहुने चिकित्सकहरूको भनाई छ । यो बर्ष स्तनपान दिवस मनाउँदै गर्दा र दिवसको समापन हुँदै गर्दा दिवस केवल औपचारिकतामात्रै नबनोस् । दिवसको मनाउनुको सार्थकता नतिजामा देखियोस् । प्रत्येक शिशुको स्तनपानको अधिकार कुष्ठित नहोस् ।