© २०२३
लमही , २१ साउन ।
दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले बिगत तीन वर्ष देखि लुम्बिनी प्रदेशको राजधानीस्थल राप्ती उपत्यकाको रोक्का जग्गा तत्काल फुकुवा नभए स्थानीय सरकारले राजधानी व्यवस्थापनमा सहयोग नगर्ने चेतावनी दिएका छन् । अध्यक्ष बिष्टले आइतबार आफ्नो फेसबुक एकाउन्टमा स्टाटस लेखेर तत्काल जग्गा फुकुवा नगरे राजधानी व्यवस्थापनमा कुनै सहयोग नगर्ने चेतावनी दिएका हुन् ।
स्टाटसमा अध्यक्ष विष्टले लेखेका छन्, “लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री माननीय डिल्ली चौधरी र अर्थमन्त्री माननीय धनबहादुर मास्की काठमाडौबाट फर्किए लगत्तै तीन बर्षदेखि रोक्का रहेका जनताको जग्गा तुरुन्तै क्याबिनेट बसेर फुकुवा गर्ने सहमति भएको हो । भर्खरै बामे सर्दै गरेको राजधानीको शहरलाई सुन्दर र ब्यवस्थित बनाउने विषयमा हामी पनि अत्यन्तै गम्भीर छौं,” उनले लेखेका छन् ।
साथै उनले “यसमा सबै पक्षको साथ सहयोग हुन जरुरी पनि छ । तर जनताको सम्पत्ति यति लामो समय यो वा त्यो बहानामा रोकिराख्नु त्यति उचित होईन भनेका छन् । प्रदेश सरकारले जग्गा फुकुवाको निर्णय तत्काल गर्नुर्ने भन्दै उनले यदि नगरेमा राजधानी ब्यबस्थापनमा स्थानीय सरकारले कुनै पनि सहयोग नगर्ने बताएका छन् ।
गत वैशाख २८ गते सरकार र जग्गा फुकुवा सघर्ष समितिसंग भएको वार्तामा एक महिना भित्र जग्गा फुकुवा गर्ने सहमति भएको थियो तर सरकारले विभिन्न बहाना देखाउँदै अहिले सम्म जग्गा फुकुवा गर्न तयार देखिएको छैन । यता केहीदिन पहिले सरकारका प्रबक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले विभिन्न सञ्चारमाध्यमहरुमा साउन २० गते भित्रै जग्गा फुकुवा हुने भनि अभिव्यक्ति समेत दिएका थिए । तर आज साउन २१ गते सम्म पनि प्रदेश सरकार जग्गा फुकुवा तर्फ टसमस देखिएको छैन ।