© २०२३
जुगजुगदेखि
कक्रिएको छु म लेकमा
हिउँजस्तै दुःखहरुको घेराबन्दीमा
मेरो ओंठमा
एउटा गीत बसेको छ
लेकको सिरेटो सँगसँगै
गुन्गुनाइरहेछु म यो विरहको गीत
हठात् अपहृत भएपछि
तन्नेरीहरूको हातबाट मादल र डम्फु
झाँक्री बाको हातबाट ढ्याङ्ग्रो र धनुकाँड
सोल्टिनाहरूको मनबाट सालेजो र रोदी
बसाई सरेको हो यो गीत
मेरो ओंठमा
हराउँदै जाँदा
हराएपछि चौतारीको वरपीपल
हराएपछि खुर्पेटोको आँसी र ठेकीको मदानी
खोरिया र खर्कहरू
गोठका भैंसी र चौंरीहरू
खोरका भेडा र च्याङ्ग्राहरू
हराएपछि
हृदयका सप्पै सप्पै भरोसिला मिथकहरू
कतैबाट झरेको हो यो गीत
मेरो ओंठमा
यो गीत
केवल लयको खेला होइन
सन्तापको घामले पगालेपछि
हिमालको आँखाबाट
झर्झर झर्झर झरिरहेको
आँसु हो यो गीत
हृदयको कुनाबाट बलात् फालिएपछि
बगरमा कतै यसै पल्टिरहेको
पुर्खाहरुको नासो हो यो गीत
उहिले कहिले
जुगजुग पहिले
लडाइँमा हराइगएको लाहुरेले
आफ्नी मायालुसँग गरेको
‘दशैंमा फर्की आउने’
बाचा छ यो गीतमा
कफिनमा बन्द हुनुअघि
अनकन्टार मरुभूमिमा
ऊँट चराइरहेको मजदुरको
वेदनाको अन्तिम आलाप विलाप छ यो गीतमा
यो गीत
छ एक्लो
एकदम
एक्लो
छ उदास
एकदम
उदास
यसमा
सङ्गीत भर्न बाँकी छ
म खोजिरहेको छु
यो एउटा गीतका लागि
एक
रहरलाग्दो र भरपर्दो गिटार
सुन्दर र बलियो बाँसुरी ।