Butwal Today

के हुन सक्छ बाँदर नियन्त्रणको दिगो समाधान ?

२८ जेष्ठ २०८३, बिहीबार
अ+
अ-

परिचय
नेपालका अधिकांश पहाडी तथा मध्यपहाडी जिल्लाहरूमा बाँदरको समस्या अहिले किसानका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ । विगतमा वन क्षेत्रमा सीमित रहने बाँदरहरू आजकल गाउँबस्ती, खेतबारी र घर आँगनसम्म पुग्न थालेका छन् ।

मकै, गहुँ, धान, तरकारी, फलफूल लगायतका कृषि उत्पादनमा बाँदरले पु¥याएको क्षतिका कारण धेरै किसान निराश भएका छन् । कतिपय स्थानमा किसानहरूले खेती गर्नै छाडेका छन् भने कतिपय गाउँहरूमा मानिसहरू बसाइँसराइ गरेर सहरतर्फ गएका छन् ।

सामान्यतया बाँदर नियन्त्रणका लागि लखेट्ने, जाली लगाउने वा स्थानान्तरण गर्ने उपायहरूको चर्चा हुने गर्दछ । तर यी उपायहरू प्रायः अस्थायी मात्र साबित भएका छन् । वास्तवमा बाँदर समस्या केवल वन्यजन्तु व्यवस्थापनको विषय होइन; यो ग्रामीण विकास, कृषि, रोजगार, वन व्यवस्थापन तथा जनसंख्या वितरणसँग प्रत्यक्ष रूपमा सम्बन्धित विषय हो । त्यसैले यसको समाधान पनि बहुआयामिक र दीर्घकालीन हुनुपर्छ ।
बाँदर समस्या किन बढ्दै गएको छ ?

नेपालका गाउँहरू अहिले तीव्र बसाइँसराइको चपेटामा परेका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी तथा आधुनिक सुविधाको खोजीमा ग्रामीण जनसंख्या सहर र विदेशतर्फ आकर्षित भइरहेको छ । यसको परिणामस्वरूप हजारौं रोपनी खेतीयोग्य जमिन बाँझो बनेका छन् ।

एक समय हराभरा देखिने गाउँहरू आज सुनसान बन्दै गएका छन् । जब गाउँमा मानिसको उपस्थिति घट्छ, खेतबारी बाँझो रहन्छ र कृषि गतिविधि कम हुन्छ, तब बाँदर लगायतका वन्यजन्तुले ती क्षेत्रलाई आफ्नो सहज आवासको रूपमा प्रयोग गर्न थाल्छन् ।

अर्कोतर्फ वन क्षेत्रमा प्राकृतिक खाद्य स्रोतको कमी, वन विनाश तथा जलवायु परिवर्तनका प्रभावका कारण बाँदरहरू मानव बस्तीमा खाद्य खोज्न आउन बाध्य भएका छन् । यसरी हेर्दा बाँदर समस्या वास्तवमा गाउँको जनशक्ति पलायन, कृषि क्षेत्रको अवनति तथा वन व्यवस्थापनको कमजोरीसँग गहिरो रूपमा जोडिएको देखिन्छ ।

गाउँबाट बसाइँसराइ रोक्नुः नियन्त्रणको आधार
बाँदर नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय गाउँलाई खाली हुन नदिनु हो । जब गाउँमा मानिसहरू बस्छन्, खेतीपाती गर्छन्, पशुपालन गर्छन् र दैनिक गतिविधि सञ्चालन गर्छन्, तब बाँदरहरूलाई खुला रूपमा फैलिन कठिन हुन्छ ।

नेपालका धेरै गाउँहरूमा आज विद्यालय, स्वास्थ्य संस्था, सडक, खानेपानी तथा रोजगारीका अवसरको अभावले गर्दा मानिसहरू बसाइँसराइ गर्न बाध्य भएका छन् । यदि सरकारले ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, यातायात र सूचना प्रविधिको पहुँच विस्तार गर्न सकेमा धेरै मानिसहरू आफ्नै गाउँमा बस्न इच्छुक हुनेछन् ।

गाउँमा जनसंख्या कायम रहँदा खेतबारीको संरक्षण, उत्पादन वृद्धि र वन्यजन्तु नियन्त्रण स्वतः सुदृढ हुँदै जान्छ । त्यसैले बसाइँसराइ नियन्त्रणलाई बाँदर व्यवस्थापन नीतिको अभिन्न अंग बनाउन आवश्यक छ ।

गाउँमै रोजगारी सिर्जना गर्नु आवश्यक
गाउँ खाली हुनुको प्रमुख कारण बेरोजगारी हो । युवाहरूले गाउँमा भविष्य नदेखेकाले सहर वा विदेश जान रोज्छन्। यसको प्रत्यक्ष असर कृषि उत्पादन र ग्रामीण अर्थतन्त्रमा पर्छ । यदि कृषि आधुनिकीकरण, कृषि–आधारित उद्योग, फलफूल खेती, मौरीपालन, पशुपालन, पर्यटन तथा साना घरेलु उद्योगलाई प्रोत्साहन गर्न सकियो भने गाउँमै पर्याप्त रोजगारी सिर्जना हुन सक्छ ।

स्थानीय स्तरमा आयआर्जनका अवसर बढ्दा युवाहरू गाउँमै बस्ने सम्भावना बढ्छ । गाउँमा सक्रिय जनशक्ति रहँदा खेतीयोग्य जमिनको सदुपयोग हुन्छ, खेतबारी बाँझो रहँदैन र बाँदरको प्रवेश पनि सीमित हुन पुग्छ । यस अर्थमा ग्रामीण रोजगारी कार्यक्रम बाँदर नियन्त्रणको अप्रत्यक्ष तर अत्यन्त प्रभावकारी उपाय हो ।

जंगलमा फलफूल तथा खाद्य बिरुवा रोपण
बाँदरहरू मानव बस्तीमा आउने अर्को प्रमुख कारण वन क्षेत्रमा पर्याप्त खाद्य स्रोतको अभाव हो । विगतमा वनमा विभिन्न प्रकारका फलफूल र खाद्य वनस्पति प्रशस्त पाइन्थे । तर, वन विनास, डढेलो र अव्यवस्थित वन व्यवस्थापनका कारण ती स्रोतहरू घट्दै गएका छन् ।

यस समस्याको समाधानका लागि सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रमा बाँदरलाई आवश्यक पर्ने फलफूलजन्य बिरुवाहरू व्यापक रूपमा रोप्नुपर्छ । काफल, जामुन, बयर, अम्बा, बेल, कटहर, आँप, चिउरी लगायतका स्थानीय प्रजातिका फलफूल बिरुवाहरू वन क्षेत्रमा रोपेर प्राकृतिक खाद्य स्रोत बढाउन सकिन्छ । वनभित्र पर्याप्त खाद्य सामग्री उपलब्ध भएमा बाँदरहरू बस्ती र खेतबारीमा आउने आवश्यकता कम हुन्छ । यसले मानव–बाँदर द्वन्द्व घटाउन महत्वपूर्ण भूमिका खेल्छ ।

बाँझो जमिनको उपयोग र कृषि पुनरुत्थानः

नेपालमा लाखौं हेक्टर खेतीयोग्य जमिन बाँझो रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । बाँझो जमिनले बाँदर तथा अन्य वन्यजन्तुलाई आश्रय दिने वातावरण तयार गर्छ । त्यसैले बाँझो जमिनमा फलफूल खेती, व्यावसायिक कृषि, जडीबुटी खेती तथा सामुदायिक खेती कार्यक्रम सञ्चालन गर्नुपर्छ । कृषिलाई व्यवसायिक र आकर्षक बनाउँदै युवाहरूलाई कृषि क्षेत्रमा जोड्न सकेमा बाँझो जमिनको समस्या कम हुनेछ । खेतीपाती बढ्दा ग्रामीण अर्थतन्त्र बलियो बन्नुका साथै बाँदरले अनियन्त्रित रूपमा फैलिने सम्भावना पनि घट्नेछ ।

सामुदायिक सहभागिता र स्थानीय पहल
बाँदर नियन्त्रणमा स्थानीय समुदायको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । किसान समूह, सामुदायिक वन उपभोक्ता समूह, स्थानीय सरकार तथा नागरिक समाजबीच समन्वय हुन आवश्यक छ । सामूहिक रूपमा खेतबारीको निगरानी, आधुनिक सुरक्षाका उपायहरूको प्रयोग, वन संरक्षण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सकिन्छ । स्थानीय स्तरमा सामूहिक प्रयास भएमा समस्या समाधान प्रभावकारी बन्न सक्छ ।

सरकारी नीति र दीर्घकालीन योजना
बाँदर समस्या समाधानका लागि संघीय, प्रदेश तथा स्थानीय सरकारले एकीकृत नीति निर्माण गर्नुपर्छ । कृषि, वन, पर्यटन तथा ग्रामीण विकास मन्त्रालयबीच समन्वय गरी दीर्घकालीन कार्ययोजना तयार गर्न आवश्यक छ । विशेषगरी ग्रामीण पुनर्जागरण कार्यक्रम, कृषि प्रोत्साहन नीति, वनमा खाद्य प्रजातिको वृक्षारोपण तथा स्थानीय रोजगार सिर्जना कार्यक्रमलाई बाँदर नियन्त्रण रणनीतिसँग जोड्नुपर्छ । केवल बाँदरलाई लखेट्ने वा स्थानान्तरण गर्ने नीतिले मात्र स्थायी समाधान दिन सक्दैन ।

निष्कर्ष
नेपालमा बाँदर नियन्त्रणको वास्तविक समाधान बाँदरलाई मात्र केन्द्रमा राखेर खोज्न सकिँदैन । यसको समाधान गाउँ बचाउने, बसाइँसराइ रोक्ने, स्थानीय रोजगारी सिर्जना गर्ने, कृषि क्षेत्रलाई पुनर्जीवित गर्ने तथा जंगलमा पर्याप्त खाद्य स्रोत उपलब्ध गराउने कार्यमा निहित छ।

गाउँमा मानिस बस्ने, खेतबारी हराभरा रहने र वनमा प्राकृतिक आहार प्रशस्त हुने अवस्था सिर्जना गर्न सकियो भने बाँदर समस्या स्वतः न्यून हुँदै जानेछ । त्यसैले “बाँदर नियन्त्रण“ भन्दा पनि “गाउँको पुनर्जागरण र वनको पुनस्र्थापना“ लाई राष्ट्रिय प्राथमिकता बनाउनु आजको आवश्यकता हो । यही बाटोले मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउँदै दिगो सहअस्तित्वको आधार निर्माण गर्न सक्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?