© 2026
धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी सानुराम भट्टराईले लामो समयदेखि एउटै प्रहरी कार्यालय वा क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीलाई दरबन्दी भएकै स्थानमा फिर्ता पठाउने अभियान तीव्र पारेका छन्। प्रहरी संगठनभित्र खटनपटनलाई व्यवस्थित बनाउने उद्देश्यले पहुँच वा भनसुनका आधारमा लामो समय एउटै स्थानमा कार्यरत कर्मचारीलाई समेत दरबन्दीमा फर्काउन थालिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रदेश प्रहरी स्रोतका अनुसार हालसम्म ३५० भन्दा बढी प्रहरी कर्मचारीलाई दरबन्दीमा फिर्ता पठाइएको छ। कञ्चनपुरमा करिब १० वर्षदेखि एउटै कार्यालयमा कार्यरत प्रहरी जवानदेखि डोटीमा दुई दशकसम्म एउटै क्षेत्रमा बसेका कर्मचारीसमेत सरुवा भएका छन्। डडेल्धुरामा १७ वर्षदेखि एउटै स्थानमा कार्यरत प्रहरी कर्मचारीलाई पनि दरबन्दीमा पठाइएको जनाइएको छ। पछिल्लो दुई दिनमा मात्रै ३५ जना सवारी चालकलाई दरबन्दीमा फिर्ता पठाइएको छ। प्रदेश प्रहरी कार्यालयले मातहतका कार्यालयलाई पत्राचार गर्दै कुनै बहाना नगरी ४८ घण्टाभित्र रमाना दिन निर्देशन दिएको छ।
डीआईजी भट्टराईले लामो समय एउटै स्थानमा बस्दा प्रहरीको अपराध अनुसन्धान, कार्यसम्पादन र निष्पक्षतामा असर पर्न सक्ने भएकाले खटनपटनलाई व्यवस्थित बनाउन अभियान सञ्चालन गरिएको बताएका छन्। लामो समयदेखि एउटै ठाउँमा बस्नु उपयुक्त हुँदैन। त्यसैले दरबन्दी भएकै स्थानमा जाने गरी सर्कुलर गरेका हौँ,’ भट्टराईले भनेका छन्। तत्काल दरबन्दीमा जान व्यावहारिक समस्या भएका कर्मचारीको हकमा भने सम्बन्धित कार्यालय प्रमुखको सिफारिस र उपलब्ध प्रमाणका आधारमा निर्णय गर्ने व्यवस्था गरिएको छ। प्रदेश प्रहरीले काजलाई निरुत्साहित गर्ने नीति लिएको जनाएको छ।
प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि भट्टराईले यसअघि गरिएको ४४४ जना प्रहरी कर्मचारीको काज सरुवासमेत बदर गरेका थिए। कञ्चनपुरको चाँदनी–दोधारामा लामो समयदेखि एउटै स्थानमा कार्यरत एक युनिटका प्रहरी कर्मचारीलाई समेत विभिन्न स्थानमा खटाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। भट्टराईले प्रहरी संगठनभित्र अनुशासन, पारदर्शिता र सुशासन कायम गर्नुका साथै लागूऔषध नियन्त्रण, अपराध अनुसन्धान, तस्करी रोकथाम र ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताएका छन्। प्रहरीको आचरण र व्यवहार सुधार, आर्थिक अनुशासन, लागूऔषध कारोबार तथा तस्करी नियन्त्रण, जुवातासलगायत गैरकानुनी गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति अपनाउन मातहतका प्रहरीलाई निर्देशन दिएको छु,’ उनले भनेका छन्, ‘सुदूरपश्चिममा लागूऔषध र अपराध नियन्त्रण गर्नु मेरो प्रमुख लक्ष्य हो।’
प्रदेश प्रहरीले संगठनभित्र गुनासो सुन्ने संयन्त्र स्थापना, भनसुनका आधारमा हुने काज सरुवा नियन्त्रण र कार्यसम्पादनको नियमित अनुगमनमा समेत जोड दिएको जनाएको छ। सीमावर्ती क्षेत्रमा लागूऔषध तथा तस्करी नियन्त्रणका लागि विशेष टोली परिचालन गर्नुका साथै संवेदनशील नाकामा डग स्निफिङ, रातिको आकस्मिक अनुगमन तथा सीमा ड्युटीको छड्के निरीक्षणलाई पनि तीव्र पारिएको छ। प्रहरी अधिकारीहरूका अनुसार भट्टराईले दैनिक कार्यसम्पादनको समीक्षा गर्नुका साथै राजमार्ग, सीमा क्षेत्र र मातहतका प्रहरी युनिटको निरीक्षणलाई समेत प्राथमिकता दिएका छन्। सुदूरपश्चिममा प्रहरीको खटनपटन व्यवस्थित बनाउने प्रयाससँगै सीमापार अपराध, संगठित तस्करी र लागूऔषध नियन्त्रणका लागि निरन्तर निगरानी तथा सम्बन्धित निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा प्रहरी अधिकारीहरूले जोड दिएका छन्।