Butwal Today

तीज संस्कृति जोगाउने चिन्ता 

२९ भाद्र २०८३, सोमबार
अ+
अ-

नेपाली महिलाहरूको महान् पर्व तीज यो वर्ष विना कुनै हर्षोल्लास मनाईदैछ । केवल औपचारिकताकै लागि तिज पर्व आज मनाईदैछ । भोटेकोशी बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिका कारण यो बर्षको तिज खल्लो महसुस भएको छ ।

तिजलाई तडकभडक साथ नमनाउन आग्रह गरिएको छ । तर, पनि बर्षमा एकदिन पर्ने यो पर्व मनाउनु पर्ने औपचारिक बाध्यता पनि छ । भाद्र शुक्ल द्वितीयादेखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन सप्तऋषिको पूजा गरी सम्पन्न भएको मानिन्छ ।

भगवान शिवको आराधना गर्दै नाचगान र मनोरञ्जन गरी दिदीबहिनी बोलाएर आफ्ना दुःख, सुख साट्ने महत्वपूर्ण चाड तीज नेपाली महिलाहरूको आफ्नै मौलिक संस्कृति हो । अर्को महत्वपूर्ण पक्ष के हो भने तीज अन्य धर्म र जातजातिका महिलाहरूले पनि साथ मनाउन थालेका छन् ।

सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेवलाई पतिका रूपमा पाउन गौरीघाटमा कठोर तपस्या गरेकी थिइन् । तर, पिता हिमालयले उनको इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीहरूले पार्वतीलाई हरण गरेर कसैले नदेख्ने ठाउँमा पु¥याएका थिए । सोही स्थानमा पार्वतीले भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसेर महादेवलाई पतिका रूपमा प्राप्त गरेको पौराणिक विश्वास छ ।

साथीहरूद्वारा हरण गरिएकी हुनाले यस व्रतलाई ‘हरितालिका’ भनिएको धर्म शास्त्रीय मान्यता छ । भगवान शिवकी अर्धाङ्गिनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो ब्रत राखेकी थिईन, त्यो दिन यही हरितालिका तिजको दिन थियो भन्ने पौराणिक मान्यता रहेको छ ।

त्यसै दिनदेखि आजसम्म नारीहरूले यो पर्व मनाउदै आएका छन् । तीजको अवसरमा माईत जाने, चेलीबेटी जम्मा हुने, दुःख सुख साटासाट गर्ने र मिठो नमिठो खाने यो पर्वको ऐतिहासिक परम्परा हो र यसले निरन्तरता पाईनै रहेको छ । यद्यपि समय परिवर्तनशील छ र त्यसक्रममा तीज मनाउने प्रचलनमा पनि धेरै फरक आईसकेको छ ।

पहिले सञ्चारका साधनको अभावले छोरी लिन जाने चलन थियो तर अव हराईसकेको छ । सामाजिक सञ्जालले तीजलाई मौलिकताबाट आधुनिक वनाएको छ ।

तीजलाई महिलाहरूले वर्षभरिका दुःख, पीर र मर्कालाई गीत तथा नृत्यका माध्यमबाट पोख्ने पर्वका रूपमा समेत उपयोग गर्दै आएका छन् । जन्मघरबाट कर्मघर जाँदा भोगेका वेदनालाई माइतीमा आएर दिदीबहिनीसँग साटासाट गर्ने माध्यम पनि यो पर्व बन्दै आएको छ । यद्यपि पछिल्ला वर्षहरूमा तीजका नाममा बढ्दै गएको तडकभडक र उच्छृङ्खलताप्रति भने संस्कृतिविद् तथा समाजशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन् ।

महिना दिन अघिदेखि नै दर खाने, महँगा गरगहना तथा पोसाक प्रदर्शन गर्ने र तामसी खाद्यपदार्थ प्रयोग गर्ने प्रवृत्तिले मौलिक संस्कृतिलाई विकृतितर्फ धकेलेको छ । तीजलाई भड्किलो परम्पराका रूपमा मनाउने गरिएकोमा धेरै विरोध हुनु स्वाभाविक पनि हो । तीजले महिलाका सुख दुःखका भावना र उद्वेग बाहिर ल्याउन सहयोग गर्ने गरेको छ ।

निश्चितरूपमा तीज पर्वलाई अझै जीवन्त बनाउन जरुरी छ । तीजलाई धार्मिक परम्परा, रीतिरिवाज र लोक सँस्कृतिको धरोहरका रूपमा विकास गरी यो पर्वको संरक्षण र सम्बद्र्धन गर्नु सवैको दायित्व हो । हरितालिका तीज नारी संघर्षको प्रतीक पनि हो । तीजको महिमा जोगाउने काम महिलाहरूले नै गर्ने हो । तसर्थ तीजलाई मौलिक पर्वको रूपमा मनाउनु जरुरी छ ।

तीजलाई संस्कृति संरक्षणको पर्वको रूपमा मनाउनेतर्फ अवको पहल आवश्यक छ । तीज परम्परामा कतै राम्रा काम पनि भएका छन । तीजकै अवसरमा दर खुवाउने भन्दै अनाथ आश्रम, बृद्धाश्रम लगायत विपन्न समुदायलाई सहयोग गर्ने परम्परा पनि विकसित भएको छ । तीजको आधुनिकताले ल्याएको एउटा राम्रो संस्कार हो र यसलाई जीवन्त वनाउनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?