© 2026
नेपाली महिलाहरूले मनाउने हरितालिका तिज पर्व सामान्यतया भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइन्छ । तिजमा शिव र पार्वतीको आराधना गरिनुका साथै नाचगान गरेर मनोरञ्जन समेत गरिन्छ ।
नेपाली हिन्दु महिलाहरूद्वारा स्वतन्त्र रूपमा मनाइने तिज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने नेपाली रहेका ठाउँ नेपालबाहिर पनि त्यत्तिकै हर्षोल्लासका साथ मनाइन्छ । सौभाग्य र समृद्धिका निमित्त शिव र पार्वतीको पूजाआजा र उपासना गर्ने भाद्र शुक्ल तृतीयाको दिनलाई तिज र हरितालिका पनि भनिन्छ । तृतीया तिथिमा मनाइने हुनाले तिज भनिएको हो ।
तिज पौराणिक कालदेखि चलिआएको मानिन्छ । पुराणहरूका अनुसार हिमालय पर्वतले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन दिएको पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन वनमा गएर शिवजीको कठोर तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको लामो समय भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिवलिङ्ग स्थापना गरी पानी पनि नखाईकन निराहार व्रत बसिन्।
पार्वतीको यस्तो कठोर व्रतको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस् भनी वर दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथिदेखि यस दिनलाई तिज पर्वका रूपमा मनाइँदै आएको मानिन्छ ।
हरितालिका तीज केवल एक धार्मिक वा सांस्कृतिक पर्व मात्र नभई सामाजिक, पारिवारिक र व्यक्तिगत स्वास्थ्यसँग जोडिएको एक महत्वपूर्ण उत्सव हो ।
विशेषगरी महिलाहरूले मनाउने यस पर्वमा व्रत, पूजापाठ, नाचगान र आत्मीय भेटघाटको विशेष स्थान रहन्छ । पार्वती साथीहरूसंग हरण भएको दिन भाद्र शुक्ल तृतियाको दिन भएकाले त्यही समयदेखि तिजको ब्रत लिने प्रचलन सुरु भएको मान्यता छ । हरितालिका तिजको मौलिकता र बास्तविकतालाई नियालेर हेर्ने हो भने भाद्र शुक्ल द्वितियाका दिन दर खाने र तृतीयामा निराहार वा फलाहार व्रत बस्ने परम्परा प्राचीन कालदेखि नै चलीआएको छ ।
पौराणिक मान्यता अनुसार माता पार्वतीले भगवान शिवलाई पति रूपमा पाउनका लागि कठोर तपस्या र व्रत गरेकी थिइन्, जसको सम्झना स्वरूप यो पर्व मनाइन्छ । तर, यसको धार्मिक र पौराणिक पक्षबाहेक तिजको शारीरिक, मानसिक, र सामाजिक स्वास्थ्यसँग गहिरो अन्तरसम्बन्ध रहेको छ ।
धार्मिक तथा सामाजिक महत्वः
तीजलाई मुख्यरूपमा नारी शक्ति, समर्पण र सम्बन्धको सुदृढीकरणको प्रतीकका रूपमा लिइन्छ । पारिवारिक र वैवाहिक सद्भावः विवाहित महिलाहरूले आफ्ना पतिको दीर्घायु, सुस्वास्थ्य र सुखी दाम्पत्य जीवनको कामना गर्दै यो व्रत बस्छन् । उता अविवाहित युवतीहरूले योग्य र सुयोग्य जीवनसाथी प्राप्त होस् भन्ने मनोकांक्षा राख्छन् र तिजको ब्रत बस्ने गर्दछन् ।
मैत्रीपूर्ण र सामाजिक एकताः तीजको अघिल्लो दिन (दर खाने दिन) दिदी बहिनी, आमा–छोरी, चेलीबेटी र साथी सङ्गीहरू एकै ठाउँमा जम्मा भई दुःख–सुख साटासाट गर्छन् । यसले आपसी माया, भ्रातृत्व र सामाजिक सम्बन्धलाई सुदृढ बनाउँछ । लामो समयसम्म भेटघाट नभएको भए भेटघाट गराउँछ ।
रातो पहिरन, गर गहना पोते र तीजका परम्परागत गीत–संगीतले नेपाली लोक संस्कृतिलाई जीवन्त राख्न मद्दत पु¥याउँछन् । स्वास्थ्यसँग तिजको अन्तरसम्बन्ध तीजका विभिन्न आयामहरूलाई आधुनिक स्वास्थ्य विज्ञानका दृष्टिकोणले हेर्दा यसका शारीरिक, मानसिक र सामाजिक फाइदाहरू स्पष्ट देखिन्छ । तीजको मुख्य आकर्षण भनेको ’व्रत’ वा उपवास हो । आधुनिक चिकित्सा र पोषण विज्ञानले उपवासका धेरै फाइदाहरू पुष्टि गरिसकेका छन् ।
वर्षभरि निरन्तर काम गरिरहने हाम्रो पाचन प्रणालीलाई २४ घण्टाको व्रतले विश्राम दिन्छ । यसले शरीरभित्र जम्मा भएका अनावश्यक विषाक्त पदार्थ हरूलाई बाहिर निकाल्न मद्दत गर्छ । उपवासका क्रममा शरीरमा ’अटोफेजी’ भन्ने जैविक प्रक्रिया सक्रिय हुन्छ, जसले शरीरका पुराना, कमजोर वा क्षतिग्रस्त कोशिकाहरूलाई हटाएर नयाँ कोशिकाहरू निर्माण गर्न सहयोग गर्छ ।
सन्तुलित उपवासले शरीरको मेटाबोलिक दर सुधार्न, इन्सुलिनको संवेदनशीलता बढाउन र तौल नियन्त्रण गर्न सहयोग पु¥याउँछ । तीजको अवसरमा महिलाहरू आफ्नो दैनिक घरधन्दा र व्यस्तताबाट फुर्सद निकालेर आफ्ना माइति र साथीभाईहरूसँग भेटघाट गर्छन् । नाचगान गर्ने, हाँस्ने र भावनाहरू साट्ने गर्नाले मस्तिष्कमा ’डोपामाइन’ र ‘एन्डोर्फिन’ जस्ता खुशी बनाउने हर्मोनहरू उत्सर्जन हुन्छन्, जसले तनाव, चिन्ता र डिप्रेसनलाई कम गर्छ ।
नियमपूर्वक व्रत बस्नाले व्यक्तिमा आत्मअनुशासन, धैर्यता र मानसिक दृढता अभिवृद्धि हुन्छ । सामाजिक र भावनात्मक स्वास्थ्यमा मानव स्वास्थ्यमा सामाजिक पक्षको पनि ठूलो भूमिका हुन्छ । चेलीबेटीहरू माइत जाने, एकापसमा सुख–दुःख साट्ने र परम्परागत गीतका माध्यमबाट आफ्ना वेदना र भावनाहरू व्यक्त गर्ने परिपाटीले महिलाहरूलाई भावनात्मक रूपमा हल्का वा हलुका बनाउँछ । तीजको धार्मिक र स्वास्थ्य सम्बन्धी महत्त्व हुँदाहुँदै पनि पछिल्लोसमय यसलाई मनाउने शैलीमा केही विकृति र अस्वास्थ्यकर अभ्यासहरू देखिन थालेका छन् ।
स्वास्थ्यलाई जोखिममा नपारी तिज मनाउन निम्न कुरामा ध्यान दिनु आवश्यक छ । दर खाने नाममा धेरै चिल्लो, पिरो, मसला र भारी खाना खाने तथा अस्वस्थकर पेय पदार्थ पिउने गर्नाले पाचन प्रणाली बिगार्न सक्छ । तसर्थ, दरमा फलफूल, दही, दूध, र सजिलै पच्ने सन्तुलित भोजन समावेश गर्नुपर्छ । यदि कसैलाई मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्या, वा अन्य दीर्घरोग छ भने वा गर्भवती र स्तनपान गराइरहेका महिलाहरूले कडा वा पानीसमेत नपिउने (निराहार) व्रत बस्नु हुँदैन ।
यस्ता अवस्थामा फलाहार, दूध वा पानी खाएर व्रत बस्नु बुद्धिमानी हुन्छ । व्रत बस्नु अघिल्लो दिन र व्रत सकिएपछि पर्याप्त पानी र झोलिलो पदार्थ पिउनुपर्छ, जसले गर्दा शरीरमा जलवियोजनको समस्या नहोस् । तडकभडक र देखावटीपनले मानसिक तनाव मात्र बढाउँछ । त्यसैले सादगी र आत्मीयताका साथ तिज मनाउनु मानसिक स्वास्थ्यका लागि उत्तम हुन्छ ।
हरितालिका तीज केवल पूजापाठ र मनोरञ्जनमा सीमित पर्व होइन । यो हाम्रो वैदिक सांस्कृतिक, सामाजिक सद्भाव र स्वास्थ्य विज्ञानको सुन्दर संगम हो । जब हामी तीजका परम्पराहरूलाई स्वास्थ्यमैत्री, संयमित र सन्तुलित ढङ्गले पालन गर्छौँ, तब मात्र यसको वास्तविक धार्मिक, सांस्कृतिक र शारीरिक महत्त्व सार्थक हुन्छ । त्यसैले आधुनिक समयमा तीजको मौलिकता जोगाउँदै यसलाई स्वास्थ्य र आरोग्यताको उत्सवका रूपमा मनाउनु नै आजको आवश्यकता हो । नेपाली महिला दिदी बहिनीहरूको महान पर्ब हितालिका तिज २०८३ को हार्दिक मंगलमय शुभकामना ।