© 2026
बुटवल । भदौ लागेसँगै गाउँघरमा तीजका गीत घन्किन्थे । दिदीबहिनीहरू माइती जाने तयारीमा जुट्थे ।
दाजुभाइ चेलीबेटीलाई लिन जाने हतारमा हुन्थे । टोलटोलमा तीजका कार्यक्रम आयोजना हुन्थे । चौतारीदेखि पार्टी प्यालेस र होटेलसम्म तीजको रौनक देखिन्थ्यो । तर यस वर्षको तीजमा ती दृश्य देखिएनन् ।
न त गाउँघरमा पहिलेझैँ चहलपहल छ, न सहरका चोक र चौतारीमा तीजका गीत बजिरहेका छन् । न त दिदीबहिनीहरूमा माइती जाने हतार छ, न दाजुभाइमा चेली लिन जाने उत्साह । देशका विभिन्न स्थानमा भदौ १० गते आएको बाढी र पहिरोले ठुलो जनधनको क्षति पु¥याएपछि यस वर्षको तीजको रौनक नै हराएको छ ।
बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्लामा ठुलो क्षति पु¥याएको छ । हजारौँ परिवार प्रभावित भएका छन् । कतिले आफन्त गुमाएका छन्, कतिले घरबार र जीवनभरको कमाइ गुमाएका छन् । कतिपय अझै हराएका आफन्तको खोजीमा छन् भने कतिपय आफ्ना प्रियजनको केही खबर आउँछ कि भनेर बाटो कुरिरहेका छन् । यस्तो पीडाको बिचमा तीजको उल्लासमा रमाउन धेरैलाई मनले दिएको छैन ।
बुटवलका ५५ वर्षीय गोविन्द अधिकारीले आफूले यसअघि यस्तो सुनसान तीज कहिल्यै नदेखेको बताए । उनले भने, “तीज भनेको रमाउने, खाने र नाच्ने पर्व हो । तर यस वर्ष भदौ १० गतेको बाढीले ल्याएको दुःखका कारण चाडपर्व आएजस्तो नै भएको छैन ।”
उनका अनुसार बाटोघाटोदेखि गाउँ टोलसम्म सबैतिर सुनसान देखिन्छ । उनले भने, “हामी यहाँ छौँ, हाम्रा घरपरिवारका कोही बाढीमा परेका छैनन्, तैपनि हामीलाई यति दुःख लागेको छ । बाढीमा परिवारै गुमाएका र जीवनभरको कमाइ क्षणभरमै गुमाएकाहरूलाई कस्तो पीडा भएको होला, त्यो हाम्रो कल्पनाभन्दा धेरै परको कुरा हो ।”
तीजको अवसरमा हरेक वर्ष ठुलो भीड लाग्ने बुटवलको देवनगर चौपारी यस वर्ष पनि सुनसान छ । यहाँ विगतका वर्षमा तीजको अवसरमा मेला लाग्ने र ठुलो सङ्ख्यामा दिदीबहिनी जम्मा भएर नाचगान गर्ने गर्दथे । विभिन्न समूहबिच नृत्य तथा गीत प्रतियोगितासमेत हुने गर्थे । भीड व्यवस्थापन गर्न सुरक्षा निकाय र स्थानीय युवा क्लबलाई समेत हम्मेहम्मे पर्ने अवस्था हुन्थ्यो ।
तर यस वर्ष देवनगर चौपारीमा तीज कार्यक्रम नै स्थगित गरिएको छ । जी ट्वान्टी फाइभ क्लब परिवार, स्थानीय टोल विकास संस्था, दुर्गामन्दिर समिति, स्थानीय आमा समूह, भजनमण्डली, ज्येष्ठ नागरिक मञ्च तथा स्थानीय बुद्धिजीवी र सामाजिक व्यक्तित्वले सूचना टाँसेर खुला तीज कार्यक्रम नगर्ने जानकारी दिएका छन् ।
देवीनगर चौपारी एउटा उदाहरण मात्र हो । देशका विभिन्न सहरमा तीजका अवसरमा आयोजना हुने नाचगान, सांस्कृतिक कार्यक्रम तथा जमघट यस वर्ष रोकिएका वा स्थगित भएका छन् । प्राकृतिक विपत्तिले ठुलो पीडा दिएको समयमा रमाइलो गर्नु उचित नहुने भन्दै धेरैले आफ्ना कार्यक्रम स्थगित गरेका छन् ।
लोक तथा दोहोरी गायिका शिलु भट्टराईका लागि पनि यस वर्षको तीज विगतका वर्षभन्दा फरक छ । हरेक वर्ष तीजका कार्यक्रममा व्यस्त हुने उनी यस पटक कुनै कार्यक्रममा सहभागी भएकी छैनन् । देश प्राकृतिक विपत्तिको सामना गरिरहेका बेला गीत गाउन र रमाइलो गर्न मनले नमानेको उनी बताउँछिन् ।
“गीत सङ्गीतको १५ वर्षे यात्रामा मैले यस्तो भयावह अवस्था कहिल्यै देखेकी थिइनँ । अबका दिनमा फेरि यस्तो विपत्ति भोग्न नपरोस्,” उनले भनिन्, “धेरैको ज्यान गएको छ, कतिका काख रित्तिएका छन्, कतिले आफन्त गुमाएका छन् । बाढी प्रभावित क्षेत्रमा ज्यान जोगाएर बसेकाहरूको गाँस र बासको समेत ठेगान छैन । यस्तो अवस्थामा तीज कसरी रमाइलोसँग मनाउनु ?”
तीज नेपाली महिलाको सांस्कृतिक र धार्मिक जीवनसँग जोडिएको पर्व हो ।
धार्मिक मान्यताअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले भगवान् शिवलाई पति पाउन गरेको तपस्यासँग तीजको सम्बन्ध जोडिएको छ । भाद्र शुक्ल तृतीयाका दिन व्रत बसेर शिव–पार्वतीको पुजा आराधना गरेमा सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।
तीजको सामाजिक पक्ष पनि उत्तिकै महत्त्वपूर्ण छ । वर्षभरि घरायसी जिम्मेवारीमा व्यस्त रहने चेलीबेटी माइतीघर पुग्ने, आफ्ना सुख दुःख साट्ने र मनका पिर मर्का गीतमार्फत पोख्ने अवसरका रूपमा पनि तीजलाई लिइन्छ । माइती र चेलीबेटीबिचको सम्बन्धलाई थप बलियो बनाउने पर्वका रूपमा तीजको आफ्नै महत्त्व छ ।
तीजको अघिल्लो दिन दर खाने र तीजका दिन श्रीमानको दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै व्रत बस्ने परम्परा पनि छ । पछिल्लो समय तीज मनाउने शैलीमा भने परिवर्तन आएको छ । गाउँका चौतारी र आँगनमा सीमित तीज पार्टी प्यालेस, होटेल तथा ठुला कार्यक्रमसम्म विस्तार भएको थियो । तीजका नाममा हुने खर्च, भड्किलोपन र देखासिकीबारे बहससमेत चल्दै आएको थियो ।
तर यस वर्षको तीजले भने ती सबै बहसलाई केही समयका लागि पछाडि धकेलेको छ । विपत्तिमा परेका आफन्त र परिवार सम्झेर धेरैले उत्सवभन्दा सहयोगलाई प्राथमिकता दिएका छन् । तीजमा खर्च गर्ने रकम प्रभावित परिवारको गाँस, बास र उपचारका लागि सहयोग गर्ने क्रमसमेत बढेको छ ।
भदौ १० गतेको विपत्तिले तीजको उत्सव मात्र रोकेको छैन, नेपाली समाजमा दुःख पर्दा एक अर्काको साथमा उभिने संस्कारलाई पनि फेरि उजागर गरेको छ । विगतमा तीजका गीतले महिलाका व्यक्तिगत पीडा र सामाजिक विकृति बोल्थे । यस वर्ष भने गीतका भाका नै मौन छन् । नाच्ने आँगन सुनसान छन् । चेलीलाई माइतीको निम्तो छ, तर हर्षोल्लास छैन ।
तीज आफैँमा दुःख बिसाउने पर्व पनि हो । वर्षभरिका पीडा गीतका माध्यमबाट पोख्ने र केही समय भए पनि मन हलुका बनाउने परम्परा यस पर्वसँग जोडिएको छ । तर यस वर्ष व्यक्तिगत पीडाभन्दा सामूहिक पीडा ठुलो बनेको छ । त्यसैले तीजका गीतमा पोखिने दुःख पनि यस पटक मौनतामा परिणत भएको छ ।
मिनसरा, गोमा वा अनुजस्ता महिलाले आफ्ना व्यक्तिगत पीडा बोकेर तीजमा माइती सम्झिएझैँ यस वर्ष बाढी पहिरो प्रभावित हजारौँ परिवारले पनि आफ्ना आफन्त र पुराना दिन सम्झिरहेका छन् । चाडपर्वले खुसी बाँड्ने भए पनि यस पटक धेरैका लागि तीजले पीडा सम्झाएको छ ।
त्यसैले यस वर्षको हरितालिका तीजमा उत्सवभन्दा संवेदना बढी छ । नाचगानभन्दा सहयोगको भावना बलियो छ । चेलीबेटी भेट्नेभन्दा विपत्तिमा परेकालाई सम्झिने क्रम बढेको छ । देशका विभिन्न ठाउँमा भएको प्राकृतिक विपत्तिले नेपाली समाजलाई दिएको चोट यति गहिरो छ कि त्यसको प्रभाव तीजको उत्सवमा समेत देखिएको छ ।
हरेक वर्ष भव्य रूपमा मनाइने तीज यस वर्ष शान्त छ । चौतारीमा गीत छैनन्, आँगनमा नाच छैन र सहरका मञ्चहरूमा कार्यक्रम छैनन् । तर यही मौनताभित्र विपत्तिमा परेकाप्रति सहानुभूति, आफन्तप्रतिको सम्झना र दुःखमा एक अर्काको साथ बन्ने नेपाली संस्कार देखिएको छ । यही कारण यस वर्षको तीज नेपाली समाजका लागि उत्सवभन्दा बढी संवेदनाको पर्व बनेको छ ।