© 2026
गुल्मी । गुल्मीमा खोला तर्ने क्रममा एक महिला खोलाले बगाएर बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा मुसिकोट नगरपालिका–५, इन्द्रेगौडा निवासी २९ वर्षीया कल्पना पुन रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार पुन आइतबार साँझ करिब ७ बजे घरबाट इस्मा गाउँपालिका–४, हुलस्थित माइतीघर जाने क्रममा निस्ती खोला तर्दै गर्दा अचानक खोलाले बगाएर बेपत्ता भएकी हुन् ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी इस्माबाट प्रहरी सहायक निरीक्षक सुमन रावतको नेतृत्वमा तथा प्रहरी चौकी पौदीअमराईबाट प्रहरी वरिष्ठ नायब निरीक्षक विजयनाथ यादवको नेतृत्वमा आठ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।
स्थानीयवासी र प्रहरीको संयुक्त टोलीले आइतबार रातिदेखि नै बेपत्ता पुनको खोजी गरे पनि फेला पार्न सकेन । राति अबेरसम्म खोजी गर्दा पनि उनको अवस्था पत्ता नलागेपछि सोमबार बिहानैदेखि पुनः खोजी कार्यलाई तीव्रता दिइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।