Butwal Today

राहत र पुनर्स्थापनामा ढिलाइ नहोस् 

१ आश्विन २०८३, बिहीबार
अ+
अ-

भोटेकोसी बाढीको आज २० दिन पूरा भएको छ । बाढीमा परेका अझै कति नागरिक सम्पर्कविहीन छन् । उनीहरूको खोजी र उद्धारमा सरकारले रफ्तारमा काम गर्नुपर्ने आवश्यक छ ।

विनाशकारी बाढीले रसुवा, त्रिशूली, नुवाकोट, बेत्रावती, गोरखा लगायतका जिल्लामा ठुलो भौतिक क्षति पु¥याएको छ । सडक सञ्जाल क्षतविक्षत भएको छ । दर्जनौँ पुल बगेका छन् । समस्यामा परेकाहरूको उद्धारका लागि जोखिमयुक्त ठाउँ ठाउँमा सुरक्षा निकाय, स्थानीय स्वयंसेवकहरू परिचालन गरिएको छ । राष्ट्रपतिले सङ्कटको यो घडीमा सिङ्गो देश बिपद प्रभावितहरूको साथमा रहेको भन्दै पीडित परिवारलाई सहानुभूति प्रकट गर्नुभएको छ ।

विपदमा धैर्यतापूर्वक चुनौतीको सामना गर्नु हामी सवैको कर्तब्य हो । साथै यो विपत्तिको घडीमा शीघ्र उद्धार र राहतका लागि राज्यदेखि नागरिक सवै स्तरबाट खटिनुपर्ने अवस्था छ । रसुवा सवैभन्दा बढी प्रभावित भएको छ । करिव चार जिल्लाको राजमार्ग अवरुद्ध हुँदा प्रभावित क्षेत्रसम्म खाद्यान्न पु¥याउन सक्ने अवस्था छैन् । अव पहिरो र बाढीका कारण मानवीय क्षति बेहोरेका परिवारलाई तत्काल राहत र पुनस्र्थापनाको खाँचो छ ।

स्थानीय रेडक्रस र पालिकाहरूले प्रभावित परिवारलाई राहतको व्यवस्थापन गरेपनि अव दिगो व्यवस्थापनको खाँचो छ । हरेक बर्ष बाढी पहिरोको यही भयानक रूप दोहोरिरहने भएकोले अव प्रकोप पूर्वको सचेतताका विषयमा नजर अन्दाज गर्नुहुँदैन भन्नेतर्फ हामी सवैको ध्यान जानैपर्दछ ।

घरबारविहीन भएका परिवार, मृतक परिवार, डुबानमा परेका खेतबारीहरू र प्रियजनहरू गुमाउनु परेको वा घाइते भएकाहरूको यो हृदयविदारक पीडा समग्र राष्ट्रको साझा चिन्ता हो । यो विपत्तिमा राज्यका सबै तहहरू, राजनीतिक तथा सामाजिक संस्थाहरूको शक्ति एकीकृत रूपमा युद्धस्तरको उद्धार, राहत र पुनर्स्थापनामा केन्द्रित हुनु अत्यावश्यक छ ।

प्रकृतिको यो प्रकोप हाम्रो साझा राष्ट्रिय दुःखको घडी हो । सङ्कटको यो कठिन समयमा सरकार तत्काल राहत सामग्रीको वितरण, सुरक्षित आश्रयस्थलको व्यवस्था र स्वास्थ्य सेवाको प्रभावकारी सञ्चालनमा गम्भीर हुनु जरुरी छ ।

पीडित परिवारहरूलाई खाद्यान्न, औषधि, कपडा तथा आर्थिक सहायता तुरुन्त उपलब्ध गराइयोस् । हामी सबै नेपालीहरू आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर यो विपत्तिलाई एकजुट भएर सामना गर्नुपर्दछ । घाईते भएकाहरूलाई निशुल्क औषधी उपचारको व्यवस्था गर्नेतर्फ सरकारको ध्यान जाओस् । नागरिकको सुरक्षाको जिम्मा सरकारको भएकोले सरकारले प्रकोपबाट उत्पन्न विषम परिस्थितिको प्रभावकारी व्यवस्थापन गर्नु जरुरी छ ।

प्रकोपपछि त्यसको रोकथाम र नियन्त्रण भन्दा पनि प्रकोप अगावैको सचेतता जरुरी छ । प्रभावित परिवारलाई सरकारले तत्काल राहत उपलब्ध गराओस् । धनजनको क्षति हुँदा मानिस आत्तिनु स्वाभाविक हो, तर यसलाई स्वीकार गरेर मनोवैज्ञानिक रूपमा आफूलाई बलियो बनाउनेतर्फ पीडित परिवारको ध्यान जानुपर्दछ ।

सरकारले घाईते भएकाहरूको उपचार, राहत र पुनर्स्थापनामा जोड दिनु जरुरी छ । भोटेकोशी बाढीका कारण देशले अमूल्य सम्पदा र सम्पत्ति समेत गुमाएको छ । अनाहकमै मृत्युवरण गर्न बाध्य हाम्रा कलिला युवा पुस्ताको अकल्पनीय क्षतिले सबै नेपालीलाई स्तब्ध बनाएको छ । देश शून्यको अवस्थामा पुगेको छ भन्ने महसुस भैरहेको छ । अव नेपालले शून्यबाट उठ्ने संकल्प गर्नु जरुरी छ । यो घडीमा देश पुनर्निर्माण गर्ने दायित्व हामी नेपालीको काँधमा आएको छ ।

रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बेठकले जसरी सहमति गरेको छ, सोही सहमति अनुसार अघि बढ्ने प्रण गरौं । बाढीबाट विस्थापित हजारौं नागरिकलाई उचित पुनस्र्थापनाको खाँचो छ । जेहोस विपदको समयमा सवै राजनैतिक दलहरूले राजनीतिक संयन्त्र बनाउने निर्णय गरेका छन् । अव बाढी प्रभावित क्षेत्रमा राहत र पुनस्र्थापनाको प्याकेज लिएर जानेतर्फ ढिलाइ नहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?