© २०२३
चन्द्रौटा(कपिलवस्तु), १९ साउन ।
कपिलवस्तुको शिवराज नगरपालिकाले नि:शुल्क रगत उपलब्ध गराउने भएको छ । नगरबासीलाई आवश्यक परेकाे बखत नेपाल रेडक्रस साेसाइटीसँग समन्वय गरि अनुदान बापतकाे रकम विनियोजन गरेर नगरपालिकाले नि:शुल्क रगत उपलब्ध गराउने भएकाे हाे ।
नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र रुपन्देही सँग पालिकाले सम्झौता गरेको छ । नगरबासीलाई निःशुल्क रगत उपलब्ध गराउन नगरप्रमुख अजय थापाले सञ्चार केन्द्रलाई अनुदान बापत २ लाख रुपैयाँ उपलब्ध गराउने सम्झौतामा उल्लेख गरिएको पालिकाले जनाएको छ ।
नगरबासी, कर्माचारीहरुलाई बिरामी परेर रगत नै चाहिएको अवस्थामा नि:शुल्क उपलब्ध गराउने उद्देश्यले रेडक्रसलाई रकम उपलब्ध गराउने नगर प्रमुख थापाले बताए । सम्झौता अनुसार नगरपालिकाले हरेक वडाहरुमा पालो-पालो वर्षमा दुई पटक रक्त संकलन शिविर सञ्चालन गरिने प्रशासकीय अधिकृत राकेश पाण्डेकाे भनाइ छ ।
आम नागरिकहरुले नि:शुल्क रगतको सेवा लिनु परेमा नगरबासीको हकमा नागरिकता, चालक अनुमतिपत्र स्थानिय भएको प्रमाण वा सिफारिसपत्र र कर्मचारीको हकमा कर्मचारी परिचयपत्र उपलब्ध गराउनु पर्ने शाखाका सभापति दिपक क्षेत्री न्यौपानेले जानकारी दिए ।