© २०२३
बुटवल, १० साउन ।
अविरल वर्षा हुँदा लुम्बिनी प्रदेशका अधिकांश मन्त्रालय जलमग्न हुने गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित अधिकांश मन्त्रालयभित्र पानी परेको बेला आउजाउ गर्न सकिंदैन । तर गृहमन्त्रालयमा भने मन्त्रीको सुविधाका लागि तीनवटा कुर्सी राखेर पुलको बन्दोबस्त गरिएको छ । जसका कारण प्रदेशको गृहमन्त्रालयमा आउजाउ गर्ने गृहमन्त्री सन्तोष पाण्डेसहित त्यहाँ कार्यरत कर्मचारी तथा सेवाग्राहीहरु यही पुलबाट यात्रा गरी कार्यालयभित्र छिर्छन् । जसका कारण अन्य मन्त्रालय भन्दा यहाँ कुर्सी राखेर बन्दोबस्त गरिएको पुलबाट यात्रा केही हदसम्म सहज हुने गरेको छ । अधिकांश मन्त्रालय डुबानमा पर्दा आवतजावतमा निकै कठिनाई र सास्ती हुने गरेको मन्त्रालयका कर्मचारीहरु बताउँछन् । मन्त्रालयका भवनहरु उचाईमा नहुँदा वर्षाको भेल बगेर सिधै मन्त्रालय कम्पाउण्ड परिसरमा पुग्ने गरेको छ । प्रदेशसभा सचिवालयमा समेत वर्षाको बेला आउजाउ गर्न सकिंदैन ।