© २०२३
करिव एक महिनायता भैरहवा भन्सार कार्यालयमार्फत एकसय रुपैयाँ भन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिनुपर्ने नियमले भारतीय सिमावर्ती बजार सुनसान भएको मात्र छैन, नेपाली उपभोक्ताको भीड सिमा क्षेत्रमा हराएको छ । यसले नेपाली सिमावर्ती बजार गुल्जार बन्ने उद्योगी व्यवसायीको दावी छ । यो दावी गरिरहँदा एक महिनाको बीचमा नेपाली बजारमा उपभोक्ताको कति प्रभाव पर्यो ? त्यो हेर्ने हो भने खासै सन्तोष मान्ने अवस्था नदेखिएको स्वयं उद्योगी व्यवसायीको भनाई छ ।
नेपाली बजारमा चहलपहल किन बढ्न सकेन ? यसका पछि धेरै कारण छन । पहिलो कारण खुला सिमा हो । जबसम्म नेपाल भारतबीचको सिमाना खुल्ला रहन्छ तबसम्म नेपाली बजार गुल्जार हुने अवस्था नै रहँदैन । अर्थात नेपाल तस्करीको केन्द्र बन्ने देखिएको छ । खुला सिमाना भएको कारण छिमेकी भारतको त कुरै छाडौं, नेपाल तेस्रो मुलुकका कतिपय कुख्यात अपराधीहरूको समेत आश्रयस्थल बन्दै आएको विगतका धेरै घटनाहरु साक्षी छन । सहज आवागमन, विदेशीप्रति कुनै किसिमको आशंका नगरी सहजै स्वागत गर्ने र उदारता प्रदर्शन गर्ने प्रचलनको फाइदा गलत तत्वले उठाउँदै आएका छन् ।
हामीकहाँ हुने अपराधहरूमा लागूऔषध, विदेशी मुद्रा, बहुमूल्य धातु, लोपोन्मुख जीव एवं वन्यजन्तुका अंगहरूको तस्करी आदि प्रमुख छन् । आपराधिक गिरोहको प्रभावमा परी नेपालीहरूसमेत विभिन्न किसिमका आपराधिक कार्यमा संलग्न हुँदै आएका छन् । नेपालीको संलग्नतामा हुने आपराधिक कार्यमा बहुमूल्य धातु सुनको तस्करी प्रमुख छ । केही दिन अघि नेपालबाट भारततर्फ हुँदै गरेको दुई किलो सुन तस्करी पछिल्लो एक उदाहरण हो । त्यसो त सुन तस्करी हाम्रा लागि नयाँ र नौलो विषय होइन । यो निकै अघिदेखि हुँदै आएको हो ।
पञ्चायती शासनकालमा सत्तासीनहरूकै संरक्षण र संलग्नतामा सुन तस्करी हुने गरेको थियो भने बहुदलीय व्यवस्थाको पुनस्र्थापना पश्चात् पनि थुप्रै नेता र सरकारी अधिकारीहरू सुन तस्करीमा मुछिएका र थुप्रै ‘सुनकाण्ड’ हरू चर्चामा आएका हुन् । तर त्यस्ता विषयमा सोधखोज, अनुसन्धान गर्ने र दोषीलाई कारबाही गर्ने काम भएन, बरु प्रायः सबैले उन्मुक्ति पाए । यसैले सुन तस्करीमार्फत कमाउने प्रवृत्ति बढ्दै गयो र यसमा गिरोहहरू नै संलग्न हुन थाले । निश्चय नै अपराधीले आफ्नो अपराध कर्मको सफलताका लागि विभिन्न उपाय अपनाउँछ । तर आधुनिक प्रविधिले सम्भावित अपराधको पहिचान गर्न र त्यस्ता अपराधबाट जोगिन सक्ने सम्भावनाहरू पनि पहिल्याउँदै गएको अवस्थामा यति धेरै परिमाणको सुन समातियो । र, बुटवलकै केही व्यापारी अहिले अनुसन्धानको क्रममा छन ।
यसमा धेरैको र पहुँचवालाको संलग्नता, सहयोग र समर्थन हुनसक्छ । स्थल मार्गबाट यति ठूलो परिमाणमा सुन तस्करी गर्ने आँट त सामान्य व्यक्तिले गर्नै सक्दैन । यसैले यसको निष्पक्ष छानबिन हुनुपर्छ र दोषीहरूलाई दण्डित गर्नैपर्छ । सोझासिधा जनता जसले दुई किलो चिनी र चियापत्ती अनि बनियान किन्न दुईपैसा सस्तो हुन्छ कि भन्ने आशमा भारतको सिमावर्ती बजार जान्छन, उनीहरुलाई रोकेर के गर्नु ? करोडौं मूल्यको बस्तुहरु निर्वाध तस्करी भैरहेको छ । अहिले भन्सारमा कडाई भएपछि खुला सिमाको प्रयोग गर्दै तस्करी गर्नेहरु मौलाउँदै गएका छन । सानातिना उपभोक्ताबाट भन्सार असूलीको बहानामा करोडौं मूल्यका तस्करीका सामान छोड्ने काम भैरहेको छ । यसबाट सरकारलाई राजस्वमा असर पर्नुका साथै सिमा क्षेत्रका अपराधीक प्रबृत्तिका तत्वहरु मोटाउने काम भैरहेको छ ।
अर्को जटिलता के छ भने खुला तस्करीको जालो तोड्न त्यति संभव छैन । बारम्बार यस प्रकारका काममा प्रहरी प्रशासनको नाम समेत जोडिने गरेको हुँदा सरकारले भन्सार राजस्व बढाउने हो भने एकसय बढीको सामानमा भन्सारमा कडाई होइन कि अवैध तस्करी नियन्त्रण गरोस् । जबसम्म तस्करी नियन्त्रण हुँदैन तबसम्म भन्सारमा कडाई गर्नुको सार्थकता हुँदैन । सरकारले निर्धारण गरेको राजस्व लक्ष्यमा बढोत्तरी होइन गिरावट आउने छ । तसर्थ यस विषयमा सरकारको ध्यान जाओस् ।