© २०२३
बुटवल, चैत ।
अख्तियार दुरुपयोग अनुसंधान आयोगको कार्यालय बुटवलले राजश्व छली गरेको आशंकामा कपिलवस्तु जिल्लाको बाणगंगा खोला मधुवन नाकाबाट २५ ठेली रसिद नियन्त्रणमा लिएको छ । बाणगंगा नगरपालिकाले गिट्टी बालुवा उत्खनन् गर्न ठेक्का दिएको एक कम्पनीले नक्कली रसिद बनाएर राजश्व छली गरेको आशंकामा ती नगदी रसिद (ठेली) नियन्त्रणमा लिएको हो ।
बाणगंगा नगरपालिकाबाट नदीजन्य पदार्थको उत्खनन्का लागि ठेक्का लिएको एन.एस. कन्ष्ट्रक्सन प्रालिले नक्कली रसिद जारी गरी नदिजन्य बस्तु ओसारपसार गरेको भन्ने सूचनाको आधारमा अख्तियार कार्यालय बुटवलले छापा हानेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका सूचना अधिकारी रामकृष्ण अधिकारीले उक्त स्थानमा छापा हानी २५ थान नगदी रसीद नियन्त्रणमा लिएर आवश्यक छानविन सुरु गरिएको जानकारी दिए ।
एन्.एस्. कन्ष्ट्रक्सन प्रालिको नाममा बाणगंगा नगरपालिकाबाट जारी गरिएको नगदी रसिद नक्कली हो या होईन भन्ने विषयमा थप अनुसंधान जारीरहेको सूचना अधिकारी अधिकारीले बताए ।
अवधै रुपमा खोलामा उत्खनन् गरेर राजश्व चुहावट भएको भन्ने सूचना पाएपछि बुटवलबाट अख्तियारको टोली बाणगंगा खोलामा गएको थियो । टोली जाँदा नदीउत्खनन् गरिरहेका १ सय बढि ट्रयाक्टर भागाभाग भएका थिए ।
खोलामा भैरहेको उत्खनन् मापदण्ड विपरित भएको हुन सक्ने समेत आशंका गरिएको छ । नगरपालिका का एक अधिकृतले खोलाबाट कागजपत्र नियन्त्रणमा लिएको स्वीकार गर्दै फेला परेका रसिदहरु नक्कली र नगरपालिकाको हस्ताक्षरसमेत नक्कली गरिएको पाइएको जानकारी दिए । उनले भने–‘हामीबाट जारी गरिएका नगदी रसिद होईनन्, ती नक्कली प्रयोग गरेको पाइएको छ, थप अनुसन्धानबाट खुल्ला । ’