Butwal Today

किन चाहिन्छ वन शिक्षा ?

४ मंसिर २०८३, शुक्रबार
अ
अ+
अ-

मानव सभ्यताको सुरुवात वन जंगलबाट नै भएको थियो । मानव जातिले विभिन्न भूगोलमा रहेका वन जंगल र त्यहाँ भएका जीवजन्तु, वनस्पति, किरा फट्यांग्रालाई बुझ्दै आफ्नो जीवन त्यसै अनुसार ढाल्दै जाँदा संसारमा धेरै किसिमका सस्कृति र सभ्यताहरू जन्मिएका छन् । विसौ शताब्दीसम्म संसारका सबै मानिसको जीवन पद्धति वन जंगलले नै निर्धारण गरेको पाइन्छ । वन जंगलका नियमलाई बुझेर नै हाम्रा पुर्खाहरूले खेतीपाती, पशुपालन, प्राकृतिक श्रोतको उपयोग, वस्ती विकास, संस्कृति पालना जस्ता कामहरू गर्दथे । समुदायका अधिकांश सदस्यलाई वन र वनस्पतिको महत्व राम्रोसंग थाहा थियो । जंंगल हेरेर त्यस ठाउँका मानिसको सम्पन्नता, सुख, चेतना स्तर र संस्कृति बुझ्न सकिन्थ्यो । घाँस दाउरा, पशुपालन, खेतीपाती, पुजाआज्ञा गर्दा परिवारका अधिकांश मानिसहरू जंगलका प्रत्येक रुख बिरुवा, जीवजन्तु, जलाधार, विपदसंग परिचित भएका हुन्थे. अहिले भने वन माथिको निर्भरता घटेको छ । पछिल्लो पुस्ता घास दाउरा, पशु चरिचरण, कन्दमुल र जंगली फलफुल ल्याउने कामबाट टाढिएको छ । वन नजिकका गाउँका बालबालिकाहरू कहिलेकाही जंगलमा गइरहेको भएपनि विगतमा जस्तो बाध्यता अहिले छैन । अधिकांश बालबालिका र युवाहरूलाई आफ्नो वस्ती नजिकको जंगलको फैलावट, त्यहाँ पाइने वनस्पति र जीवजन्तु, धरातलीय अवस्था, वनको उपयोगको बारेमा जानकारी नै हुदैन । रुख विरुवा नचिन्ने, वनको महत्व बुझ्न नसक्ने पुस्ता तयार भैरहदा भविस्यमा वनजंगल मात्र नभएर समग्र प्रकृतिलाई माया नगर्ने र प्रकृतिमैत्री सस्कृति नै हराउने त हैन भन्ने आशंका उत्पन्न भएको छ ।
नेपालका सबै समुदायमा वन जंगल सम्बन्धि रैथाने ज्ञान र सिप रहेको पाइन्छ । बालबालिकाहरू अग्रजहरूको पछी लागेर घास दाउरा, कन्दमुल र जडिबुटी संकलन गर्न र शिकार खेल्न जंगल जाँदा जंगलका बोट विरुवा, जिवजन्तुसंग परिचित हुने मौका पाउँथे । पशु चराउन जंगलमा जाँदा जंगलको भूगोल, पानीका श्रोत, धरातलीय अवस्था, उर्वरता, बोट विरुवाको फैलावट जस्ता कुराहरू थाहा पाएका हुन्थे । चाडपर्व मनाउदा होस् वा घरमा पुजाआजा गर्दा होस् समुदायका साना ठुला मानिसहरू मिलेर जंगलमा गएर पात टिप्ने, खर, बाबियो र कुश ल्याउने, लिंगा काट्ने जस्ता कामहरू गर्दा पनि जंगलको बारेमा जानकारी आदानप्रदान हुन्थ्यो । समुदायमा रहेको रैथाने ज्ञानको कारण हरेक मानिसहरूलाई कुन समयमा जंगलमा घास दाउरा काट्न जानुपर्छ ? कस्तो र कहाँका रुखहरू काट्नुपर्छ ? कुन समयमा दाउरा काट्दा दाउरा किराले खादैनन् ? कस्ता विरुवा काट्दा जिवजन्तुलाई असर पुग्छ भन्ने कुराको जानकारी हुन्थ्यो । यस्ता गतिविधिले गर्दा वन संरक्षणका साथै जीवनयापनमा समेत सहजता आइरहेको हुन्थ्यो । घाँस दाउरा गर्दा वा अग्रजहरूसंग मिलेर वं पैदावारको संकलन र प्रयोग गर्दा एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरित ज्ञान वास्तवमा वन शिक्षा नै थियो । तर, पछिल्लो समयमा वन संगको सामिप्यता टुटेको छ । जंगलमा आउँदा जाँदा, वन पैदावार संकलन र उपयोग गर्दा वनको बारेमा सिक्ने अवसर दुर्लभ भैरहेको छ । कतिपय ठाउँमा त टाढाबाट वन देख्न पाउनु पनि दुर्लभ भैसकेको छ । यस्तो अवस्थामा वन साक्षरता र वन शिक्षा औपचारिक रूपमा शैक्षिक संस्थाबाट नै प्रदान गर्नुपर्ने बाध्यता देखिएको छ ।
वन शिक्षा भनेको वन, वनस्पति, वन्यजन्तु, जलाधार, जैविक विविधता र समग्र पारिस्थितिक प्रणालीका बारेमा वैज्ञानिक, व्यावहारिक तथा सामाजिक ज्ञान आर्जन गर्ने प्रक्रिया हो । यसले वन क्षेत्रको व्यवस्थापन, संरक्षण, दिगो उपयोग र मानव जीवनसँग यसको अन्योन्याश्रित सम्बन्धबारे सचेतना जगाई नागरिकहरूलाई वनले पर्यावरण, अर्थतन्त्र र जलवायु परिवर्तनमा खेल्ने भूमिकाबारे बुझ्न सक्षम बनाउँछ । वन शिक्षा÷ साक्षरता वन विज्ञानको औपचारिक अध्ययन भन्दा फरक कुरा हो । वन विज्ञानमा वन विकास र व्यवस्थापनका कुराहरू अध्यापन गरिन्छ । नेपालमा कृषि तथा वन विस्वविद्यालय , त्रिभुवन विश्वविद्यालय तथा अन्य विश्वविद्यालयहरू अन्तर्गत वन विज्ञानमा स्नातक , स्नातकोत्तर र पीएचडी तहसम्मका अध्ययन तथा अनुसन्धानहरू हुँदै आएका छन् । यसैगरी सिटीईभिटी अन्तर्गत वन विज्ञानमा ३ वर्षे डिप्लोमा स्तरको शैक्षिक कार्यक्रम पनि संचालन भैरहेको छ । विद्यालय तहको पाठ्यक्रममा विज्ञान प्रविधि, वातावरण शिक्षा विषयमा वनको महत्व र संरक्षणको बारेमा कुनैकुनै पाठमा उल्लेख भएको भएपनि वन शिक्षा सम्बन्धि कुनै विषय भने समावेश गरिएको छैन । वन सम्बन्धि सरकारी निकाय र दातृ सस्थाहरूका साथै सामुदायिक वन समुहहरूले अनौपचारिक तथा समुदायमा आधारित स्थानीय जनतालाई वन संरक्षण, वृक्षारोपण, घाँस–दाउराको दिगो व्यवस्थापन र आयआर्जनका तालिमहरू दिएर व्यावहारिक वन साक्षरता अभिवृद्धि गरिएको छ। यस्ता कार्यक्रम धेरै हदसम्म प्रभावकारी पनि देखिएका छन् ।
वन शिक्षाको आवश्यकता
वन शिक्षाको मुख्य उद्देश्य वनको वारेमा जानकारी दिएर वनको विवेकपूर्ण ढंगले उपयोग गर्न सक्ने ज्ञान र सिपको विकास तथा प्रसार गर्नु हो । समुदायलाई वन जंगलको अवस्था, त्यहाँ रहने जीवजन्तु र वनस्पतिको बारेमा जानकारी लिएर वन पैदावारको परम्परागत र सास्कृतिक उपयोग गर्न सघाउने र त्यसलाई जीविकोपार्जनसंग जोड्नको लागि वन शिक्षाको आवस्यकता पर्छ । वन शिक्षाले समुदायमा वनको प्रयोग र संरक्षण सम्बन्धि रैथाने ज्ञान र सिपको संरक्षण र प्रसार गर्न सघाउँछ । वन सम्बन्धि शिक्षा सानैदेखि पाएको व्यक्तिले वन, वनस्पति र वन्यजन्तुलाई माया गर्न, मानव वन्यजन्तुको द्वन्दको प्राकृतिक नियन्त्रणका उपायहरू खोज्न सक्छ । सबैभन्दा महत्वपूर्ण कुरा बालबालिकाले वन जंगल रमाइलो गर्न जाने ठाउँ मात्र हैन भन्ने कुरा बुझ्ने अवसर पाउछन् । मानिसले उपयोग र हानिकारक वनस्पति नचिन्दा उपयोगी वनस्पतिहरू नासिदै गएका छन् भने हानिकारक बाह्य मिचाहा प्रजातिका वनस्पतिहरू तीव्र रूपमा फैलिरहेका छन् । क्षणिक लाभको लागि महत्वपूर्ण वनस्पतिहरू मास्ने र पारिस्थितिक पद्धति नै बिगार्ने हानिकारक वनस्पति फैलाउने काम मानिसबाट भैरहेको छ । वन जंगलको बारेमा सबैलाई साक्षर बनाउन सकेमा प्राकृतिक, सास्कृतिक र आर्थिक रूपमा महत्वपूर्ण वनस्पतिहरू चिन्न, त्यसको संरक्षण र विस्तार गर्न सघाउ पुग्नेछ । यसैगरी हानिकारक बाह्य वनस्पतिहरूलाई समयमै चिनेर त्यसलाई निर्मुल गर्न र प्रसार रोक्न समेत मानिसहरूलाई बेलैमा सचेत गराउनेछ ।
अहिले मानव वन्यजन्तु समस्या जटिल बन्दै गएको छ । मानिसहरूले वन्यजन्तुको अवस्था, फैलावट, तिनीहरूको आनीबानीमा आएको परिवर्तन र आहार विहार बुझ्न नसक्दा वन्यजन्तुसंग भिडन्त नगरी आफ्नो जीवनयापनमा परिवर्तन गर्न सकिरहेका छैनन् । कस्तो वनमा कस्ता वन्यजन्तुहरू पाईन्छन् ं? तिनीहरूको आनीबानी कस्तो छ ? कस्ता बालीनालीमा तिनीहरूले बढी क्षति गर्छन् ? कुन समय र अवस्थामा वन्यजन्तुले मानिसलाई आक्रमण गर्छन भन्ने जस्ता आधारभूत जानकारी र सचेतना वन नजिकका वासिन्दाहरूले पाउन सके भने वन्यजन्तुसंग आमनेसामने हुने अवस्थालाई कम गर्न, खेतबारीमा वन्यजन्तुले मन नपराउने बालीनाली लगाउन, वन्यजन्तुलाई वनमै रोक्नको लागि वनमा नै उनीहरूको लागि आहारा र पानीको व्यवस्था गर्न समेत सहयोग पुग्छ । यस्ता कामहरू गर्न सकियो भने वन्यजन्तुबाट हुने हानि नोक्सानी अवस्य पनि कम गर्न सकिनेछ ।
वन डढेलो अहिले वन क्षेत्रको मात्र नभएर समग्र वातावरणीय क्षेत्रको ठुलो समस्या बनिरहेको छ । नेपालमा लाग्ने अधिकांश डढेलो अज्ञानता र लापरवाहीको कारण लाग्ने गरेको अध्ययनहरूले देखाएका छन् ।.वन साक्षरताले वनसंग नजिक रहेका समुदायलाई डढेलोमा मानवीय भूमिकाको बारेमा जानकारी दिएर समुदायलाई जिम्मेवार बनाउछ । मानिसका के कस्ता कारणले डढेलो लाग्छ ? त्यसबाट के कस्ता मानवीय, प्राकृतिक र भौतिक क्षति हुन्छ ? डढेकोको जोखिम कसरि कम गर्न सकिन्छ ? भन्ने जानकारी वन शिक्षाबाट हासिल गर्न सकिन्छ । डढेलोको उत्पत्ति, फैलावट र असर जस्ता कुराको ज्ञान भएमा डढेलो हुने मानवीय र भौतिक क्षतिलाई घटाउन सकिनेछ । यस्तो शिक्षाले वनमा अग्नि रेखा निर्माण, झाडी सरसफाई, पानीका श्रोतहरूको संरक्षण जस्ता कार्यमा जनसहभागिता वृद्धि गर्न समेत सघाउ पुग्नेछ । वन जंगललाई काठ दाउरा उत्पादनमा मात्र सिमित राख्दा वनबाट प्राप्त हुने अनेकौ लाभका अवसरहरू गुमिरहेका छन् । वन केवल दाउरा वा काठको स्रोत मात्र होइन, यो जडीबुटी, पर्यापर्यटन र कार्बन व्यापार मार्फत देशको अर्थतन्त्र बलियो बनाउने माध्यम हो । यसको सही सदुपयोगका लागि प्राविधिक र व्यावसायिक वन शिक्षाको आवश्यकता छ । वन शिक्षाले जडिबुटी चिन्न मात्र सहयोग पुग्दैन, त्यसको व्यवस्थित संकलन,भण्डारण र विक्रीका साथै जडिबुटी खेति र संरक्षणमा लाग्न समेत सघाउछ । वनलाई नबुझी पर्यापर्यटनका कामहरू गर्न कदापि सम्भव हुदैन. कस्तो क्षेत्रमा कस्तो किसिमको पर्या पर्यटनका गतिविधिहरू संचालन गर्ने र पर्यटकलाई कसरि घुमाउने भन्ने योजना बनाउनको लागि वन शिक्षा अपरिहार्य मानिन्छ । वनलाई बुझेका टुर अपरेटर, टुरिस्ट गाईड भएमा प्रकृतिलाई देखाएर मात्र पनि ठुलो आर्थिक लाभ लिन सकिनेछ ।
धेरै मानिसलाई वनजंगल सरकारी वन कर्मचारीको मात्र सरोकारको विषय हो भन्ने लाग्छ । यसले वन सम्बन्धि नीति नियम, योजना र कार्यक्रम लागु गर्दा नागरिक असहयोग बढाएको छ । वनसम्बन्धी नीति, ऐन र नियमहरूको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय जनता वन साक्षर हुनुपर्छ । वन सम्बन्धमा सचेत नागरिकले सामुदायिक वनको गठन, संचालन र विकासमा चासो राख्दछ। । सामुदायिक वनप्रति अपनत्व जगाउने, वन पैदावारको बाँडफाड र बजारिकरणमा सहयोग गर्ने, वृक्षारोपणमा सहभागी हुने तथा विरुवा हुर्काउन सहयोग गर्ने जस्ता काममा वन शिक्षाले अग्रसर गराउछ । नागरिकहरू वन सम्बन्धि ऐन, कानुन, नीति र कार्यक्रमको बारेमा जानकार भएमा राज्यले वन तथा वातावरण क्षेत्रमा गर्न चाहेका राम्रा कामहरूमा जनसहभागिता र समर्थन वृद्धि हुन्छ । वनको बारेमा राम्रोसंग बुझेका मानिसलाई वनमा भएका र हुने सम्भावना भएका बेथितिको बारेमा जागरुक बनाउछ र त्यसको विरुद्ध आवाज उठाउन सघाउछ । यसबाट वन क्षेत्रमा सुशासन कायम गर्न मद्धत पुग्छ ।
वन शिक्षा समाजमा हुर्कदा, जीवन यापन गर्दा स्वतः प्राप्त गर्न सकिने पुरानो अवस्था अहिले पुरै बदलिएको छ । त्यसैले अब वन सम्बन्धि शिक्षा औपचारिक रूपमा विद्यालय तहबाट नै दिनुपर्ने देखिएको छ । विद्यालय तहका पाठ्यक्रममा वन सम्बन्धमा बढीभन्दा बढी जानकारी राख्ने र स्थानीय पाठ्यक्रममा स्थानीय क्षेत्रको वनको अवस्था, उपयोग, सम्भावना र समस्याको बारेमा धेरै जानकारी दिने सामग्री राखेर पठनपाठन गर्ने हो भने सबै बालबालिकाले वनको बारेमा जानकारी लिन र संरक्षण तथा उपयोग गर्न सक्नेछन् । विद्यालयहरूले बालबालिकाहरूलाई नियमित रूपमा जंगल भ्रमणमा लैजाने, वनको बारेमा जानकार पुरानो पुस्तासँग वनका विभिन्न आयामहरूको बारेमा अन्तरक्रिया गर्ने अवसर प्रदान गर्ने हो भने बालबालिकाहरू वनसँग परिचित हुन पाउछन् । विद्यालय भन्दा बाहिर रहेका नागरिक, वन उपभोक्ता र वनदेखी टाढा रहेका बासिन्दाहरूलाई अनौपचारिक वन साक्षरता कार्यक्रम गर्नु पर्दछ । डिभिजन वन कार्यालय, स्थानीय सरकार र सामुदायिक÷ साझेदारी वन उपभोक्ता समुहहरूले यस्ता कामहरू गर्नुपर्छ । नेपालमा वनको क्षेत्रफल बढेको छ । तर वनको क्षेत्रफल बढ्नु मात्र राम्रो कुरा हैन, यसको संरक्षण, अभ्यास र आर्थिक विकासको लागि सदुपयोग पनि हुनु जरुरि हुन्छ । सिमित मान्छेलाई वन विज्ञान पढाएको भरमा वनको संरक्षण , विकास र उपयोग हुन कदापि सक्दैन. यी उपलब्धि हासिल गर्नको लागि समुदायका सबै तह र वर्गमा वन शिक्षा र साक्षरता पु¥याउन ढिला गर्नु हुदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?