© 2026
गैंडहवा ।
रूपन्देहीको गैडहवा गाउँपालिकामा यस वर्षको छठ पर्वमा विभिन्न जिल्ला तथा पालिकाबाट आएका श्रद्धालु भक्तजनको उल्लेख्य सहभागिता रह्यो । गाउँपालिकाका नौवटै वडाका नदी, तालतलैया, पोखरी तथा जलाशयका किनारमा छठीमाताको पूजा आराधना गर्दै पर्व मनाइएको हो ।
गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरा सन्तेश्वर घाटमा विशेष चहलपहल देखिएको थियो । अस्ताउँदो सूर्यलाई अर्घ दिएर सुरु गरिएको छठ पूजाको मुख्य विधि भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न भएको हो ।
गाउँपालिकाभित्रका स्थानीयवासीका साथै छिमेकी पालिका र जिल्लाबाट समेत श्रद्धालु भक्तजन पूजा आराधनाका लागि आएका थिए । धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको छठ पर्वमा जनप्रतिनिधि, सरकारी कर्मचारी, सामाजिक संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका अगुवा तथा समाजसेवीको पनि सहभागिता रहेको थियो ।
रूपन्देही क्षेत्र नं. ५ का संघीय सांसद तौफिक अहमद खानले छठ पर्व धार्मिक आस्था र सामाजिक सद्भावको प्रतीक भएको बताए । तराई–मधेसको मौलिक संस्कृति र पहिचानसँग जोडिएको यस पर्वको संरक्षण तथा प्रवद्र्धन सबैको साझा दायित्व भएको उनको भनाइ थियो । यस्ता सांस्कृतिक पर्वले विभिन्न समुदायबीच आपसी भाइचारा, मेलमिलाप र एकता कायम गर्न सहयोग पु¥याउने उनले बताए ।
गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले गाउँपालिकाका सबै नौवटै वडामा छठ पर्व उत्साहपूर्ण रूपमा मनाइएको बताए । गैडहवाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचान स्थापित गर्न पर्वले योगदान पु¥याएको उल्लेख गर्दै उनले यसको संरक्षण र प्रवद्र्धनका लागि गाउँपालिकाले सहयोग गर्दै आएको बताए ।
कार्यक्रमका अध्यक्ष उमपति मौर्यले गाउँपालिका, आयोजक संस्था, स्थानीयवासी, सुरक्षाकर्मी तथा श्रद्धालु भक्तजनको सहयोग र सहभागिताले पर्व भव्य रूपमा सम्पन्न भएको बताए ।
गाउँपालिकाको आर्थिक सहयोग तथा सनातनी संस्था गैडहवाको आयोजनामा छठ पर्वका कार्यक्रम सञ्चालन गरिएको थियो । सूर्यपुरा सन्तेश्वर घाटमा गरिएको सजावट, पूजा व्यवस्थापन र श्रद्धालुको उपस्थितिले यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्वलाई थप उजागर गरेको आयोजकले जनाएको छ ।
पर्वलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले सुरक्षा व्यवस्थापन गरेका थिए । स्थानीयवासीको सक्रिय सहभागिता र विभिन्न निकायको समन्वयमा सम्पन्न छठ पर्वले गैडहवाको धार्मिक पर्यटन तथा सांस्कृतिक पहिचान प्रवद्र्धनमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।