Butwal Today

प्रहरीमा एकैपटक पाँच एआईजी अवकाशमा

१ मंसिर २०८३, मंगलवार
अ
अ+
अ-

काठमाडौं । नेपाल प्रहरीमा आगामी पुस ५ गते एकैपटक पाँच जना अतिरिक्त महानिरीक्षक (एआईजी) अनिवार्य अवकाशमा जाने भएपछि उच्च नेतृत्व तहमा व्यापक फेरबदल हुने भएको छ । यसअघि नै एक एआईजी पद रिक्त रहेकाले अवकाशपछि प्रहरीमा ६ एआईजी पद खाली हुनेछन् ।

३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका पाँचै एआईजी प्रहरी महानिरीक्षक (आईजीपी) मनोजकुमार केसीकै ब्याची हुन् । उनीहरू राष्ट्रिय अनुसन्धान विभागमा सेवा प्रवेश गरेको मितिका आधारमा अनिवार्य अवकाशमा जान लागेका हुन् । अवकाशमा जान लाग्नेमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख उमाप्रसाद चतुर्वेदी, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख सुशीलसिंह राठौर, प्रदेश समन्वय विभाग प्रमुख सिद्धिविक्रम शाह, कार्य विभाग प्रमुख हिमालयकुमार श्रेष्ठ र प्रशासन विभाग प्रमुख डम्बरबहादुर विक छन् ।

तत्कालीन एआईजी मनोजकुमार केसी आईजीपीमा नियुक्त भएपछि अपराध अनुसन्धान विभागको एआईजी पद यसअघि नै रिक्त छ । पुस ५ गते पाँच एआईजीले अवकाश पाएपछि प्रहरीमा एकैपटक ६ पद खाली हुनेछन् । अवकाशमा जान लागेका पाँचै जना २०५३ पुस ५ गते राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएका थिए । पछि प्रहरी निरीक्षकका रूपमा नेपाल प्रहरीमा आएका उनीहरूको सेवा अवधि राष्ट्रिय अनुसन्धान विभागमा प्रवेश गरेको मितिदेखि गणना हुने भएकाले ३० वर्षे सेवा अवधिका आधारमा अवकाश हुन लागेको हो ।

उनीहरूसँगै सोही ब्याचका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू पनि अनिवार्य अवकाशमा जानेछन् । डीआईजीहरू सुरेन्द्र गुरुङ, दिलीपसिंह देउवा र ओम रानासहित विनोद घिमिरे र माधव श्रेष्ठ पनि अवकाशमा जाने भएपछि प्रहरीमा वरिष्ठ डीआईजीको संख्या घट्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?