Butwal Today

पाल्पाका गाउँ गाउँमा डिजिटल बैकिङ्ग सेवा

प्रविधिको विकास भयो तर ठगिने समस्या भएन समाधान
२० कार्तिक २०८३, शुक्रबार
अ
अ+
अ-

पाल्पा ।

तानसेन बसपार्क नजिकका बिष्णु खनाल पत्रकारितासंगै पुस्तक व्यवसायी पनि हुन् । अचेल पसलबाट सामान बिक्री गर्दा नगदमा भुक्तानी भन्दा डिजीटल प्रविधिको प्रयोग बढि हुने गरेको बताउँछन् । बिष्णुको पसल नजिकै मोवाइल पसल गरेका बिमल पौडेलको पनि सामान बिक्री गरेपछि ग्राहकले नगदभन्दा डिजिटल प्रविधिबाट भुक्तानी गर्ने गरेको बताउँछन । शहरी क्षेत्रमा मात्र नभई ग्रामिण क्षेत्रका पसलहरुमा समेत डिजिटल प्रविधिको प्रयोगले नगदी कारोवार कमै हुदै गएको व्यवसायीहरु बताउँछन् ।

सहरी क्षेत्रबाट ग्रामिण बस्तीमा समेत इन्टरनेटको सुविधा पुगेपछि डिजिटल कारोवार बढेको छ । माथागढी गाउँपालिका गोठादीका रोशन खाम्चा व्यवसायी सगै व्यापारी पनि हुन । उनी भन्छन– विगत केही वर्षदेखि बुटबल भैरहवादेखि काठमाडौ सम्मका व्यापारीलाई रकम भुक्तानी गर्नका लागि झोलामा पैसा बोकेर हिड्न पर्दैन । मोवाइल बैंकिङबाट भुक्तानी गर्दा रकम सुरक्षित भएको छ ।

पहिला झोलामा पैसा बोकेर टाढा जाँदा हराउने र चोरीको संभावना बढि थियो । अहिले त्यस्तो समस्या डिजिटल भुक्तानीकै कारण समाधान भएको छ । विकासको हिसावले निस्दी गाउँपालिका पछाडी छ । सडक यातायातको सहज पहँुच पुगेको छैन तर इन्टरनेटको सुविधा पुगेको छ । पछिल्ला वर्षमा नेपाल टेलीकमको सुेवा सहज भएपछि यहाँ पनि डिजिटल कारोवार बढि हुने गरेको मित्यालका व्यापारी दुर्गा प्रसाद श्रेष्ठ बताउँछन् ।

उहाँका अनुसार पहिले पहिले धेरै नगदी कारोवार हुन्थ्यो तर मोवाइल बैंकिङका कारण अचेल नगद भन्दा मोवाइल बैंकिङबाट बढि लेनदेन हुने गर्दछ । मोवाइलको सहजतासंगै इन्टरनेटको बिस्तारले धेरै सहज बनाएको छ । उनी भन्छन– बुटवलका व्यापारीलाई भुक्तानी गर्दा झोलाभरी पैसा बोकेर जानुपथ्र्यो, अव त्यो समस्या छैन । मोवाइलमै सामानको बिल आउँछ । मोवाइल बाटै भुक्तानी गरिन्छ । यस्तो सजिलो समय आउँला भन्ने कल्पना नै थिएन ।

डिजिटल प्रविधिका कारण सबैलाई सहज भएको छ । रकम लेनदेन मात्र होइन स– साना बालबालिकादेखि लोकसेवाको तयारी कक्षासम्म अनलाइनबाट सिक्न सजिलो भएको छ ।

निस्दी गाउँपालिका मित्यालस्थित जलदेवी आधारभूत विद्यालयका शिक्षक लाल बहादुर सोती सम्झन्छन्– पहिले चार महिनामा तलब निकासा हुन्थ्यो, तलब लिन जाँदा झोलो बोकेरै शिक्षा कार्यालय जानु पर्दथियो । एकै दिनमा काम सकिन मुस्किल हुन्थ्यो । झोला भरी पैसा बोकेर विद्यालयमा पुगेर तलबी भरपाइमा सहि गराएर भुक्तानी दिनुपथ्र्यो तर अहिले शिक्षकहरुले यस्तो झन्झटको सामना गर्नुपर्दैन । उनी महिना सकिएपछि पहिलो हप्तामा मोवाइलमा घण्टी बज्ने गरेको बताउँछन् ।

पुस्तक व्यवसायी बिष्णु खनाल भन्छन– डिटिजल प्रविधि भित्रिनुअघि पहिले विद्यालयहरुबाट कपी पुस्तकहरुको भुक्तानी चेकबाट हुन्थ्यो । त्यो समयमा कहीले हस्ताक्षर नमिल्ने, कहिले मिति नमिल्ने समस्या हुन्थ्यो तर अहिले निकै सजिलो भएको छ ।

यता डिजिटल माध्यमबाट भुक्तानी सजिलो भएपनि क्यूआरबाट ठगिने क्रम बढेको धेरैको गुनासो छ । पहाडी क्षेत्रमा क्यूआरको सिस्टम अत्यन्तै ढिलो छ । भुक्तानी दिनेको खाताबाट रकम काटिन्छ तर पाउनेको खातामा जम्मा भएको तत्काल देखिदैन । होटल व्यवसायी मधु पराजुली पनि ग्राहकले नास्ता गरेपछि भुक्तानीका लागि क्यूआर खोज्छन् । क्युआरबाट भुक्तानी गर्छन् तर कहिलेकाही पैसा नै आउँदैन । डिजिटल प्रविधीको विकास भएपनि क्यूआर सेवा प्रभावकारी हुन नसकेको उनको अनुभव रहेको छ ।

नेपाल टेलीकमको विवरण अनुसार पाल्पा जिल्लामा डेढलाख भन्दा बढिले नेपाल टेलीकमको सुविधा उपयोग गरेका छन् । १५ हजार भन्दा बढिले एनसीएलको सिम प्रयोग गरेका छन् । समस्या इन्टरनेट सिमको भन्दा सेवा प्रदायक बैंक तथा वित्तीय संस्थाको प्रणालीका कारण भएको टेलीकमका प्राविधिकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?