© 2026
चन्द्रौटा ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले प्रहरी सेवा प्रभावकारी बनाउन भौतिक पूर्वाधारसँगै समुदायको सहयोग र सहकार्य आवश्यक रहेको बताएका छन् । बाणगंगा नगरपालिका(५ इलाका प्रहरी कार्यालय कोपवामा नवनिर्मित दुईकोठे प्रहरी ब्यारेक भवनको शुक्रबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रहरी र समुदायबिचको सम्बन्धलाई अझ सुमधुर बनाउन यस्ता पूर्वाधारले महत्त्वपूर्ण भूमिका खेल्ने उपरीक्षक भट्टले बताए । प्रहरीको सेवा प्रवाहलाई प्रभावकारी बनाउन र मजबुत बनाउन भौतिक पूर्वाधारसँगै समुदायको सहयोग र सहकार्य पनि उत्तिकै आवश्यक रहेको उनले उल्लेख गरे ।
यसैबीच बाणगंगा नगरपालिका(५ का वडाध्यक्ष दुनिकाप्रसाद भुसालले प्रहरी नागरिकको शान्तिसुरक्षा र अमनचयन कायम गर्ने महत्त्वपूर्ण निकाय भएकाले प्रहरीलाई आवश्यक पूर्वाधार तथा सहयोग उपलब्ध गराउनु सबैको साझा दायित्व भएको बताए । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले भवनको उद्घाटन गरेका थिए ।
यस्तै वडा नम्बर(६ का वडाध्यक्ष करुण टन्डन, इलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीलगायतले प्रहरी र स्थानीय समुदायबिचको सहकार्यले समाजमा शान्तिसुरक्षा कायम गर्न योगदान पुर्याउने बताए ।