Butwal Today

सिटिजन्स बैंकको बट्टार शाखा सञ्चालनमा

१८ कार्तिक २०८३, बुधबार
अ
अ+
अ-

नुवाकोट । भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट पूर्ण रूपमा क्षति पुगेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको देवीघाट शाखाको सेवा बट्टारबाट सञ्चालनमा ल्याइएको छ ।

स्थानीय सेवाग्राहीलाई सहज, सुलभ र प्रभावकारी बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले विदुर नगरपालिका–२, बट्टारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यसअघि सञ्चालनमा रहेको देवीघाट शाखाबाट बट्टार शाखा करिब सात किलोमिटरको दूरीमा रहेको बैंकले जनाएको छ ।

बट्टारमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ शाखाको उद्घाटन गरे । उनले बाढीबाट देवीघाट शाखा पूर्ण रूपमा क्षति भएपछि त्यहाँका ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउन बट्टार शाखा सञ्चालनमा ल्याइएको बताए । विपरीत परिस्थितिमा पनि धैर्यपूर्वक शाखा सञ्चालनमा ल्याउन सफल कर्मचारीको उनले प्रशंसा गरे ।

बाढीले देवीघाट शाखाको भौतिक संरचनामा पूर्ण क्षति पु¥याए पनि त्यहाँ कार्यरत कर्मचारी भने सुरक्षित रहन सफल भएका थिए । नयाँ शाखामार्फत ग्राहकलाई आवश्यक खुद्रा बैंकिङ सेवा उपलब्ध गराउनुका साथै साना तथा ठूला व्यवसायीको वित्तीय पहुँच विस्तार गर्ने बैंकको लक्ष्य छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बट्टार शाखामा निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गर्ने जनाएको छ । शिविरमा मुखको क्यान्सर, मुटु तथा रक्तनलीसम्बन्धी रोगको परीक्षण, शरीरको वस्तुमान सूचकाङ्क (बीएमआई) परीक्षण र मधुमेह परीक्षणलगायतका सेवा निःशुल्क उपलब्ध गराइनेछ ।

बैंकका अनुसार बागमती प्रदेशमा बट्टारसहित उसका ५६ शाखा सञ्चालनमा छन् । सिटिजन्स बैंकले देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ एकाइमार्फत २० लाख ८२ हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

बैंकले सन् २०२४ र २०२५ मा ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरेको जनाएको छ । फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्ड सेवा पनि सञ्चालनमा ल्याएको बैंकको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?