© 2026
बुटवल । सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि, अवैध चोरीनिकासी तथा पैठारी नियन्त्रणका लागि नेपाल र भारतका सशस्त्र सुरक्षा निकायबिच सूचना आदानप्रदान र समन्वयलाई प्रभावकारी बनाउने सहमति भएको छ । रूपन्देहीको लुम्बिनीमा सोमबार सम्पन्न सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बिचको दशौँ डीआईजीस्तरीय समन्वयात्मक बैठकले सीमा अपराध नियन्त्रणमा दुवै पक्षले सहकार्य गर्ने निर्णय गरेको हो ।
बैठकमा सीमा क्षेत्रमा हुने मानव तस्करी, नक्कली मुद्रा ओसारपसार तथा कारोबार र लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राखेर संयुक्त रूपमा काम गर्ने समझदारी भएको छ । त्यसैगरी सीमा स्तम्भको समयमै मर्मत तथा सम्भार गर्ने र गैरकानुनी रूपमा नेपाल प्रवेश गर्न खोज्ने तेस्रो देशका नागरिकको निगरानी तथा नियन्त्रणमा समेत समन्वय गर्ने सहमति भएको छ ।
सशस्त्र प्रहरी बल, विन्ध्यवासिनी बाहिनी मुख्यालय कपिलवस्तुको आयोजनामा भएको बैठकको नेतृत्व बाहिनीपति डीआईजी दीपक अधिकारीले गरेका थिए । भारतीय सशस्त्र सीमा बलका तर्फबाट सेक्टर हेडक्वार्टर लखीमपुर खिरीका उपमहानिरीक्षक बी. विक्रमनले नेतृत्व गरेका थिए ।
बैठकमा लुम्बिनी प्रदेशका सीमावर्ती जिल्लाका सशस्त्र प्रहरी गणपतिहरू तथा भारतीय सशस्त्र सीमा बलको गोरखपुर सेक्टर हेडक्वार्टरका उपमहानिरीक्षक दीपक बरनवाल सहभागी थिए । गोरखपुर र लखीमपुर खिरी सेक्टर हेडक्वार्टर मातहतका पाँच–पाँचवटा बटालियनका बटालियन कमान्डरको समेत सहभागिता थियो ।
सीमा क्षेत्रमा हुने गतिविधिको निगरानी र नियन्त्रणलाई थप प्रभावकारी बनाउन दशगजा क्षेत्रमा संयुक्त गस्ती गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो । सीमा क्षेत्रका नागरिकबीच आपसी सद्भाव र सम्बन्ध विस्तारका लागि खेलकुद तथा विभिन्न सामाजिक गतिविधिलाई निरन्तरता दिने विषयमा समेत दुवै पक्ष सहमत भएका छन् ।
बैठकमा यसअघि २०८३ वैशाख २२ गते भारतको एकीकृत जाँच चौकी रूपैडिहामा सम्पन्न नवौँ समन्वयात्मक बैठकका निर्णय तथा एजेन्डाको कार्यान्वयन अवस्थाबारे समीक्षा गरिएको थियो ।
सीमा सुरक्षासँग सम्बन्धित साझा चुनौती पहिचान गर्दै आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे छलफल गरिएको बैठकले विगतका सहमति प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।
नेपाल–भारतबिच खुला सीमा रहेकाले सीमापार अपराध, अवैध ओसारपसार तथा मानव तस्करी नियन्त्रणमा दुवै देशका सुरक्षा निकायबीच नियमित सूचना आदानप्रदान र समन्वयलाई महत्वपूर्ण मानिँदै आएको छ ।