© 2026
बुटवल । लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्द्व, जनआन्दोलन, मधेस आन्दोलन र जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको उपचारसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले घाइतेहरूको उपचार व्यवस्थापनलाई व्यवस्थित गर्ने उद्देश्यले उक्त कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८२ / ८३ को शासकीय सुधार तथा सुशासनसम्बन्धी वार्षिक प्रतिवेदनसमेत स्वीकृत गरेको छ । त्यसैगरी प्रदेश सरकारअन्तर्गतका तथा सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी कार्यविधि, २०८३ पारित गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारका प्रवक्ता तथा सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेले मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै प्रदेश वन (दोस्रो संशोधन) नियमावली, २०८३ पनि स्वीकृत भएको बताए ।
निजी वनका रुख कटान, उपयोग, ओसारपसार, बिक्रीवितरण तथा अनुगमनसम्बन्धी कार्यविधि भने थप छलफल र आवश्यक परिमार्जनका लागि सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय बैठकले गरेको छ ।
बैठकले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नीता पोख्रेल अर्याललाई तोकेको छ । त्यस्तै, पर्यटन विकास परिषद्को आर्थिक तथा प्रशासनिक कार्य सञ्चालनको जिम्मेवारी प्रशासन अधिकृत माधव शर्मालाई दिने निर्णय गरेको छ ।