© 2026
बुटवल । विश्वशान्ति र समस्त प्राणीको कल्याणको कामनासहित लुम्बिनीमा सातदिने विशेष बौद्ध पूजा सुरु भएको छ । महायानी बौद्ध परम्पराअनुसार लुम्बिनीको पश्चिम विहार क्षेत्रमा रहेको पाल थुब्तेन सेडुप लिङ विहार (नौ हजार स्वर्ण बुद्ध मन्दिर) मा आइतबारदेखि पूजा आरम्भ गरिएको हो ।
कार्तिक २१ गतेसम्म सञ्चालन हुने धार्मिक अनुष्ठानमा १२ देशका १५० विदेशी नागरिकसहित करिब ५५० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । पूजामा महायानी बौद्ध धर्मको कानिङ सम्प्रदायका मूलगुरु छोक्यी न्यीमा रिन्पोछेले सहस्र बुद्धको अभिषेक तथा धर्मदेशना गरिरहेका छन् ।
विश्वमा शान्ति स्थापना, समस्त जीवको रक्षा तथा कल्याण र मानव समुदायमा करुणा एवं सद्भावको भावना विकास गर्ने उद्देश्यले पूजा आयोजना गरिएको आयोजकले जनाएको छ । तिब्बती बौद्ध धर्मावलम्बीको महत्वपूर्ण धार्मिक पर्व ‘ल्हाबाब दुछेन’ को अवसर पारेर आयोजना गरिएको यस पूजाको विशेष धार्मिक महत्व छ । बौद्ध मान्यताअनुसार भगवान् गौतम बुद्धले देवताको लोकमा पुगेर आफ्नी आमासहित देवगणलाई धर्मोपदेश दिनुभएको र त्यसपछि पुनः पृथ्वीमा अवतरण गर्नुभएको घटनाको स्मरणमा यो पर्व मनाइन्छ ।
तिब्बती पात्रोको नवौँ महिनाको २२औँ दिन मनाइने ल्हाबाब दुछेनलाई बौद्ध धर्मका चार प्रमुख पवित्र पर्वमध्ये एक मानिन्छ । यस दिन दान, पुण्य, ध्यान तथा धार्मिक अनुष्ठान गर्दा विशेष आध्यात्मिक फल प्राप्त हुने बौद्ध धर्मावलम्बीको विश्वास छ ।
विशेष पूजासँगै पाल थुब्तेन सेडुप लिङ विहार स्थापना भएको दोस्रो वार्षिकोत्सवसमेत मनाउन लागिएको छ । सात दिनसम्म चल्ने धार्मिक कार्यक्रममा अभिषेक, धर्मदेशना तथा विभिन्न आध्यात्मिक अनुष्ठान सञ्चालन हुनेछन् ।
अन्तर्राष्ट्रिय बौद्ध समुदायको सहभागितामा आयोजना भएको यस कार्यक्रमले लुम्बिनीलाई बौद्ध धर्मको अन्तर्राष्ट्रिय धार्मिक तथा आध्यात्मिक केन्द्रका रूपमा थप परिचित गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, विभिन्न देशका बौद्ध धर्मावलम्बीबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध विस्तारमा समेत योगदान पुग्ने आयोजकको विश्वास छ ।