Butwal Today

चाडपर्वलाई लक्षित गर्दै रोल्पामा बजार अनुगमन तीव्र

१७ कार्तिक २०८३, मंगलवार
अ
अ+
अ-

रोल्पा ।

हिन्दु धर्मावलम्बीहरूको महान् पर्व तिहार तथा छठलाई लक्षित गर्दै रोल्पामा बजार अनुगमन तीव्र पारिएको छ । चाडपर्वका समयमा उपभोक्ताको माग बढ्ने मौका छोपेर हुन सक्ने कृत्रिम मूल्यवृद्धि, कालोबजारी तथा म्याद गुज्रिएका र गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न सम्बन्धित निकायले अनुगमनलाई तीव्रता दिएका हुन् ।

घरेलु तथा साना उद्योग कार्यालय रोल्पा र जिल्ला प्रशासन कार्यालयको संयुक्त आयोजनामा सुलीचौर र लिबाङ बजारमा अनुगमन गरिएको हो । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख विक्रम केसीको नेतृत्वमा सुनिलस्मृति गाउँपालिका–३ र ४ तथा रोल्पा नगरपालिका–२ र ४ का विभिन्न बजार क्षेत्रमा अनुगमन गरिएको थियो ।

अनुगमन टोलीले खाद्यान्न तथा किराना पसल, गोदाम र दैनिक उपभोग्य सामग्रीको बिक्री वितरण अवस्थाबारे निरीक्षण गरेको छ । सुलीचौर बजारका १४ वटा खाद्यान्न तथा किराना पसलका गोदाममा सामग्रीको म्याद, गुणस्तर, भण्डारण प्रक्रिया र मूल्यसूची जाँच गरिएको थियो ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ रोल्पा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पा तथा इलाका प्रहरी कार्यालय सुलीचौरका प्रतिनिधिहरू सहभागी थिए । टोलीले चामल, दाल, तेल, चिनी र नुनलगायत दैनिक उपभोग्य वस्तुको मूल्यमा अस्वाभाविक वृद्धि नगर्न व्यापारीलाई सचेत गराएको छ । साथै, मूल्यसूची देखिने स्थानमा राख्न र म्याद गुज्रिएका वस्तु बिक्री नगर्न निर्देशन दिएको छ ।

टोलीले पटाका तथा अन्य विस्फोटकजन्य सामग्रीको बिक्री, वितरण र भण्डारणका साथै अवैध मादक पदार्थको कारोबारबारे समेत निगरानी गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले उपभोक्ताको हित संरक्षण र बजारमा हुने अनियमितता नियन्त्रणका लागि जिल्लाभर अनुगमनलाई निरन्तरता दिइने बताए । कृत्रिम मूल्यवृद्धि, कालोबजारी तथा गुणस्तरहीन सामग्रीको बिक्री गर्ने गतिविधि भेटिएमा प्रचलित कानुनअनुसार कारबाही गरिने उनले स्पष्ट पारे ।

रोल्पाका अन्य बजार तथा ग्रामीण क्षेत्रमा समेत अनुगमन विस्तार गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?