© 2026
काठमान्डौँ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले मुलुकको अर्थतन्त्र सुधार गर्न नसकेको टिप्पणी गरेका छन् । उनले सरकारको प्राथमिकता अर्थतन्त्र सुधारभन्दा अन्य विषयमा केन्द्रित भएको आरोप लगाएका हुन् ।
प्रमुख प्रतिपक्षी दलका तर्फबाट सरकारप्रति धारणा सार्वजनिक गर्दै थापाले अहिले मुलुकको अर्थतन्त्र दबाबमा रहेकाले सरकारको मुख्य ध्यान आर्थिक सुधारमा केन्द्रित हुनुपर्ने बताए ।
‘अहिले हाम्रो अर्थतन्त्र ठीक छैन । फागुनअघि पनि ठीक थियो म भन्दिनँ । प्राकृतिक विपत्तिका कारण राष्ट्रिय ढुकुटी दबाबमा छ । यस्तो अवस्थामा सरकारको ध्यान अर्थतन्त्रमा हुनुपर्ने होइन र ?’ उनले प्रश्न गरे ।
उनले अहिले मुलुकमा विश्वासको संकट गहिरिएको भन्दै सरकारको नीतिका कारण कर्मचारी, व्यवसायी, प्रहरी तथा संवैधानिक निकायसमेत अन्योलमा परेको टिप्पणी गरे ।
थापाले शिथिल अर्थतन्त्रलाई सुधार गर्न त्रास होइन, भरोसा र विश्वासको वातावरण आवश्यक रहेको बताए । सरकारको कार्यशैलीले आर्थिक गतिविधि थप प्रभावित भएको उनको भनाइ थियो ।
‘शिथिल भएको इकोनोमीलाई तर्साएर होइन, भरोसा र विश्वास दिएर अघि बढ्नुपर्ने हो । अहिले गन्जागोल बनाइदिएर कहीँ कतै केही गर्न सक्ने अवस्था छैन,’ उनले भने ।
सरकारले अर्थतन्त्र सुधारका लागि पहल गरे प्रमुख प्रतिपक्षी दलका रूपमा कांग्रेस सहयोग गर्न तयार रहेको पनि उनले स्पष्ट पारे । विधेयक पारित गर्न वा आर्थिक सुधारका काम अघि बढाउन अध्यादेशको सहारा लिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उनले राष्ट्रिय सभा र प्रतिनिधिसभामा कांग्रेसको भूमिकालाई उपयोग गर्न सरकारलाई आग्रह गरे ।
‘अर्थतन्त्र सुधारको काम गरौँ भन्नुस्, हामी सहयोग गर्न तयार छौँ,’ थापाले भने ।