© 2026
काठमान्डौँ ।
‘बिचौलिया’को आरोपमा पक्राउ परेका इनम सापकोटासम्बन्धी समाचारको आधिकारिकता पुष्टि गर्न प्रहरीले आग्रह गरेको छ ।
सापकोटासँग ‘कनेक्सन भेटिएको’ भन्दै प्रहरी महानिरीक्षक (आईजीपी) सहित विभिन्न व्यक्तिको नाम जोडेर समाचार प्रकाशित हुन थालेपछि जिल्ला प्रहरी परिसर, काठमाडौंले यस्तो आग्रह गरेको हो ।
परिसरका सूचना अधिकारी एसपी दानबहादुर थापाद्वारा जारी विज्ञप्तिमा प्रचलित कानुन, विधि र प्रक्रियाअनुसार मुद्दाको अनुसन्धान भइरहेको उल्लेख छ । अनुसन्धानका विषयवस्तु गोप्य राखिएको र संवेदनशील विवरण, प्रमाण तथा सूचना कुनै पनि व्यक्ति वा पक्षलाई उपलब्ध नगराइएको विज्ञप्तिमा जनाइएको छ ।
अनुसन्धानको निष्पक्षता, व्यावसायिकता र गोपनीयता कायम राख्न कार्यालय प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
‘अनुसन्धानको संवेदनशीलता र प्रचलित कानुनी व्यवस्थालाई पालना नगरेको खण्डमा कानुनबमोजिम हुने हुँदा मुद्दासँग सम्बन्धित सूचना एवं सामग्रीहरू सम्प्रेषण वा प्रकाशन गर्दा जनमानसमा भ्रम सिर्जना हुन सक्ने भएकाले आधिकारिकता पुष्टि गर्नसमेत अनुरोध गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रहरी परिसर काठमाडौंले सापकोटालाई अभद्र व्यवहारको कसुरमा हिरासतमा राखेको छ ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेपछि उनको मोबाइलको प्राविधिक जाँच गरिएको थियो । सोही क्रममा जबरासँग सापकोटाको सघन सम्बन्ध देखिएको भन्दै उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको समाचार सार्वजनिक भएका थिए ।
सापकोटाको मोबाइलको प्राविधिक जाँचका क्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, एआईजी राजन अधिकारी, पूर्वएआईजी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेल र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँललगायत व्यक्तिसँग उनको सम्बन्ध देखिएको दाबीसहित विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएका छन् ।
यद्यपि, उक्त विवरण जिल्ला प्रहरी परिसरबाट उपलब्ध नगराइएको प्रहरीले जनाएको छ । अनुसन्धानसँग सम्बन्धित संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्दा त्यसको आधिकारिकता पुष्टि गर्न परिसरले आग्रह गरेको हो ।