काठमाडौँ ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई थप व्यवस्थित, जिम्मेवार र उत्तरदायी बनाउनुपर्नेमा जोड दिएका छन् ।
प्रस्तावित आमसञ्चारसम्बन्धी विधेयक, २०८३ को मस्यौदाउपर आज मन्त्रालयमा आयोजित सरोकारवाला निकाय तथा पदाधिकारीसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले प्रेस स्वतन्त्रता र त्यसको दुरुपयोगबीचको सीमालाई स्पष्ट पार्न त्यसै बमोजिमको कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन् ।
कानुन र सञ्चारमाध्यम लोकतान्त्रिक समाजका महत्वपूर्ण आधार हुन् भन्नुहँदै उनले यी दुवैको सम्बन्धलाई बडो जिम्मेवार रुपमा सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरे । कानुनले राज्यका बाध्यकारी नियम र संस्थागत व्यवस्थालाई प्रतिनिधित्व गर्ने तथा सञ्चारमाध्यमले नागरिकलाई सूचना प्रदान गर्ने, सार्वजनिक बहसलाई सहजीकरण गर्ने र सरकारलाई जवाफदेही बनाउन भूमिका निर्वाह गर्ने उनको भनाइ थियो ।
मन्त्री डा विक्रम तिमिल्सिनाले प्रेसजगत्ले सम्प्रेषण तथा सम्पादन गरेका कार्यलाई आफू पनि त्यसको उपभोक्ता तथा सर्वसाधारण नागरिक भएर सोच्न पनि सुझाए ।
पत्रकारिता समाजको सबैभन्दा जिम्मेवार र सामाजिक उत्तरदायित्वपूर्ण कार्य भएकाले आफ्ना कर्मलाई आफैँले पनि एक नागरिक तथा उपभोक्ताका रुपमा मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ थियो । यदि त्यसो गर्न सकियो भने संविधानप्रदत्त प्रेस स्वतन्त्रताको अधिकारका साथै नागरिकको वैयक्तिक स्वतन्त्रताको पनि दुरुपयोग नहुने उनको तर्क थियो ।
मन्त्री डा तिमिल्सिनाले भने “प्रेस स्वतन्त्रता त संवैधानिक अधिकार हो, कसैले खोस्न सक्दैन । अब अर्को संविधान आउँदा पनि यो अधिकारको हनन् हुनेवाला छैन, तर प्रेसले पनि संविधानले दिएको स्वतन्त्रताको यो अधिकारको दुरुपयोग गर्नु हुँदैन, यसको सम्मान गर्न सक्नुपर्छ ।”
उनले कानुन र ‘मिडिया’का बीचको अन्तरसम्बन्ध अति नै संवेदनशील हुने भएकाले एक अर्काको मर्यादा र दायराभित्र रहेर परिभाषित गरिनुपर्ने पनि बताए । उनले मिडिया र राजनीति दुवै जति स्वस्थ हुनुपर्ने हो त्यति नरहेकाले सबैले सच्चिएर र आफूलाई सुधार गरेर अघि बढ्नुपर्नेमा पनि जोड दिए ।